हर्क साम्पाङ् नेतृत्वको “श्रम संस्कृति” पार्टीको संगठन मलेसियामा पनि गठन हुँदै।

क्वालालम्पुर (मलेसिया): नेपालमा हर्कराज साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीको प्रवास शाखा गठन एवं संगठन विस्तार यहाँ मलेसियामा समेत हुनेभएको छ।

आगामी महिना १४ डिसेम्बर २०२५ आइतबारका दिन राजधानी क्वालालम्पुरमा अवस्थित Wisma Ann Koai, K.L. (नेपाली राजदूतावास) रहेको छेउको भवनमा बिहान ११:०० बजेदेखि वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका नेपाली समुदायलाई लक्षित गरी पार्टीको संगठन विस्तार कार्यक्रम आयोजना गर्न लागिएको यस अभियानका मलेसिया सल्लाहकार भिमकुमार राईले जानकारी दिनुभयो।

“देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो कार्यक्रम पार्टीको प्रवासमै संगठित पहिलो ठूलो भेला हुने आयोजकले अपेक्षा गरेको छ।

सल्लाहकार राईका अनुसार मलेसियामा रहेका श्रमिकहरूको हक-अधिकार, सुरक्षा, वेतन तथा कागजपत्रसम्बन्धी समस्या, र प्रवासी नेपालीहरूको सामाजिक–राजनीतिक सहभागिताबारे महत्त्वपूर्ण छलफल हुनेछ।

साथै, सल्लाहकार राईले मलेसियालाई आफ्नो कर्मथलो बनाएर बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनी, श्रम संस्कृति पार्टीमा आस्थावान समर्थक श्रमदाताज्यूहरूको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरेको बताउनुभयो। स्मरण रहोस् यस् पार्टीमा आवद्ध हुनेलाई कार्यकर्ता भनेर सम्बोधन गर्न नपाइने , तर श्रमदाता भनेर चाहिँ सम्बोधन गर्न पाइने नियम छ ।

श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटो रहेको छ, जसले “श्रम, इमान र देशप्रेम” को प्रतीक प्रस्तुत गर्छ। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन श्रम संस्कृति पार्टी, प्रवास सभा मलेसियाले गरेको छ। कार्यक्रमबारे थप आवश्यक जानकारी तथा सम्पर्कका लागि पार्टीले +६० १८-२६७ ५२०८ तथा +६० ११-३३४८ ३६०५ नम्बर उपलब्ध गराएको छ।