पेनाङ (मलेसिया):= पेनाङस्थित एक होस्टलको स्टील गेटले च्यापिएर दुर्घटनामा एक ३७ वर्षीय नेपाली कामदारको मृत्यु भएको छ। पेनाङ फायर एण्ड रेस्क्यु विभाग (JBPM) का आगलागी तथा उद्धार अपरेसनका सहायक निर्देशक जोन सागुन फ्रान्सिसका अनुसार, मृतक राम भुजेल बुधबार (नोभेम्बर २६) बिहान गेटको भारी वजनले किचिएको अवस्थामा भेटिएका थिए।
“हामीलाई बिहान ४:५५ बजे एक व्यक्तिलाई गेटमुनि अचेत अवस्थामा फेला परेको रिपोर्ट प्राप्त भयो। “उद्धार टोली बिहान ५ बजे घटनास्थल पुगेको थियो र व्यक्ति स्टील गेटले पूरा रूपमा थिचिएको अवस्थामा भेटिए,” सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
उनका अनुसार, टोलीले गेट हटाई उद्धार कार्य गरे पनि घटनास्थलमै ती व्यक्तिको मृत्यु भइसकेको पुष्टि भएको थियो।मृतकको शव प्रहरीले थप कार्यवाहीका लागि जिम्मा लिएको र उद्धार कार्य ६:१६ बजे सकिएको विभागले जनाएको छ।जोन सागुनका अनुसार, गार्डको जानकारी र CCTV फुटेज का आधारमा घटनाको प्रारम्भिक कारण खुल्न आएको छ।
“फुटेज अनुसार, मृतकले एक्लै गेट खोल्ने प्रयास गर्ने क्रममै अचानक बेहोस भएकाले गेट उनको शरीरमाथि खसेको देखिन्छ। “घटनाको समयमा गार्ड परिसर वरिपरि गस्तीमा रहेकोले त्यहाँ गार्डपोस्टको गेटमा उपस्थित थिएन,” उनले भने।




















