काठमाडौं:= सरकारले विदेशी रोजगारका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्दै अब ९ हजार ५ सय रुपैयाँ लिने व्यवस्था गरेको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यो शुल्क वृद्धि गर्ने निर्णय गरेका थिए। यसअघि स्वास्थ्य परीक्षणका लागि ६ हजार ५ सय रुपैयाँसम्म लिने गरिएको थियो।
भण्डारीले ८ चैत २०८१ मा गरेको मन्त्रीस्तरीय निर्णयअनुसार सबै परीक्षणको प्याकेज शुल्क ९ हजार ५ सय कायम गरिएको थियो, र सो निर्णय आजदेखि लागू भएको हो। यद्यपि सरकारले त्यतिबेलै शुल्क बढाउने निर्णय गरे पनि व्यापक विवादका कारण कार्यान्वयन हुन सकेको थिएन।
अहिले विभागीय मन्त्री नभएको अवस्थामै स्वास्थ्य व्यवसायीहरूले उक्त नयाँ शुल्क आजदेखि लागू गरेका छन्।नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले आफ्ना सदस्य व्यवसायीहरूलाई पत्राचार गर्दै बढाइएको शुल्क लागू गर्न निर्देशन दिएका छन्।
कुल ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गरिएकाले त्यसका लागि ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको र सरकारद्वारा थप गरिएका परीक्षणहरू पनि अनिवार्य रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको संस्थाहरूले उल्लेख गरेका छन्।
स्वास्थ्य सेवा डिजिटलाइजेसन गर्ने काम निरन्तर भइरहेको महासंघले जनाएको छ। परीक्षण सेवा गुणस्तरीय बनाउन सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्नुका साथै शुल्क वृद्धि गरिएको हो।




















