काठमाडौं := लगातार दोस्रो र समग्रमा तेस्रोपटक पुरुष टी-२० विश्वकप खेल्न लागेको नेपालले समूह चरणका आफ्ना चारवटै खेल भारतको मुम्बईमा खेल्ने भएको छ । नेपालले आफ्नो विश्वकप अभियानको सुरुवात विश्व क्रिकेटको पावरहाउस इंग्ल्याण्डविरुद्ध खेलेर गर्ने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल इंग्ल्याण्डसँग फेब्रुअरी ८ मा खेल्नेछ । नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेष्ट इण्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने भएको हो ।
सबै खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछन् । इंग्ल्याण्ड र इटालीसँग दिउँसो ३ बजे, वेष्ट इण्डिजसँग बिहान ११ बजे र बंगलादेशसँगको खेल राती ७ बजे सुरु हुनेछ । नेपालले अपराजित रहेर टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटको उपाधि जित्दै विश्वकपमा स्थान बनाएको थियो ।
नेपालले इंग्ल्याण्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने यो पहिलो अवसर हुनेछ । यसअघि नेपालले भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिकालगायतका टोलीसँग विभिन्न प्रतियोगितामा खेलिसकेको छ । गत संस्करणको टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो । त्यसबेला नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो ।
यसपालि नेपाल ‘ग्रुप सी’ मा परेको छ । नेपाल रहेको समूह ‘सी’ मा पूर्वविश्वविजेता इंग्ल्याण्ड र वेष्ट इण्डिजसहित अर्को टेष्ट राष्ट्र बंगलादेश रहेको छ । त्यस्तै, युरोपेली राष्ट्र इटाली पनि नेपालकै समूहमा परेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा पुरुष टी-२० विश्वकप क्रिकेट खेलेको थियो । त्यसयता यसपटक नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।
सार्वजनिक समीकरणअनुसार प्रतियोगिताको समूह ‘ए’ मा आयोजक भारतसहित चिरप्रतिद्वन्द्वी पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘बी’ मा अष्ट्रेलिया, आयोजक श्रीलंका, जिम्बाब्वे, आयरल्याण्ड र ओमान परेका छन् ।
त्यसैगरी, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान, युएई र क्यानडा रहेका छन् ।
भारत र पाकिस्तानबीचको समूह चरणको खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुनेछ । उद्घाटन खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ । भारतको पहिलो खेल संयुक्त राज्य अमेरिकाविरुद्ध हुनेछ ।
अफगानिस्तान-बंगलादेश समूह चरण कठिन छ । किनकि तिनीहरूमा इंग्ल्याण्ड, वेष्ट इण्डिज, दक्षिण अफ्रिका र न्युजिल्याण्ड समावेश छन् । चारै टोलीसँग फाइनलमा अनुभव छ, जबकि बंगलादेश र अफगानिस्तान कहिल्यै विश्वकपको फाइनलमा पुगेका छैनन् । युरोपेली देश इटाली पहिलोपटक टी-२० विश्वकपका लागि छनोट भएको हो ।
सन् २०२६ को टी-२० विश्वकप भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ । प्रतियोगिता भारत र श्रीलंकाका सात शहरका आठ स्थानमा खेलाइनेछ । २९ दिनमा ५५ खेल खेलाइनेछ । समूह चरणमा प्रत्येक दिन तीन खेल खेलाइनेछ । फाइनल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ ।
यदि पाकिस्तान नकआउट चरणमा पुग्यो भने खेलहरू श्रीलंकामा खेलाइनेछ । प्रतियोगितामा २० टोलीहरू छन् । प्रत्येक टोलीले आफ्नो समूहभित्र चार लिग खेल खेल्नेछ । लिग चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर ८ चरणमा प्रवेश गर्नेछन् । सुपर आठभित्र पर्ने शीर्ष दुई टोलीहरू प्रत्येकले सेमिफाइनलमा प्रवेश गर्नेछन्, जसका विजेताहरूले मार्च ८ मा अहमदाबादमा हुने फाइनल खेल्नेछन् ।
भारतमा टुर्नामेन्ट खेलहरू अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, नयाँदिल्लीको अरुण जेटली स्टेडियम, कोलकाताको इडेन गार्डेन स्टेडियम, चेन्नईको चेपक स्टेडियम र मुम्बईको वान्खेडे स्टेडियममा खेलिनेछ । श्रीलंकामा कोलम्बो र क्यान्डीमा खेलहरू खेलिनेछन् । कोलम्बोमा आर. प्रेमदासा र सिंहली स्पोट्र्स क्लब स्टेडियममा खेलिनेछ । टोली भारतले मुम्बई, दिल्ली, कोलम्बो र अहमदाबादमा समूह चरणका खेलहरू खेल्नेछ ।
टी-२० विश्वकप २००७ मा सुरु भएको थियो । भारतले पहिलो संस्करणमा फाइनलमा पाकिस्तानलाई हराएर उपाधि जितेको थियो । १७ वर्षपछि २०२४ मा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई हराएर दोस्रोपटक उपाधि जितेको थियो । भारतबाहेक वेष्ट इण्डिज र इंग्ल्याण्डले पनि दुई-दुई उपाधि जितेका छन् । पाकिस्तान, श्रीलंका र अष्ट्रेलियाले एक-एकपटक उपाधि जितेका छन् ।
नेपालको खेलतालिकाः
पहिलो खेलः नेपाल भर्सेस इंग्ल्याण्ड- फेब्रुअरी ८ (मुम्बई)
दोस्रो खेलः नेपाल भर्सेस इटाली- फेब्रुअरी १२ (मुम्बई)
तेस्रो खेलः नेपाल भर्सेस वेष्ट इण्डिज- फेब्रुअरी १५ (मुम्बई)
चौथो खेलः नेपाल भर्सेस बंगलादेश- फेब्रुअरी १७ (मुम्बई)
समूह विभाजन
समूह ए- भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबिया
समूह बी- अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाब्वे र ओमान
समूह सी- इंग्ल्याण्ड, वेष्ट इण्डिज, बंगलादेश, नेपाल र इटाली
समूह डी- न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई



















