जोहोरस्थित डिटेन्सन क्याम्प “घरफिर्ती केन्द्र”बाट नेपालीसहित १११ जना विदेशी बन्दीहरू स्वदेश फिर्ता

क्वालालम्पुर (मलेसिया):= यसै वर्ष सन् २०२५ नोभेम्बर महिनाको तेस्रो सातामा मलेसियाली अध्यागमन विभाग जोहोरस्थित डिटेन्सन डेपो “घरफिर्ती केन्द्र”ले नेपालीसहित विभिन्न देशका १११ जना विदेशी बन्दीहरूलाई स्वदेश फिर्ता गरेको छ।

अध्यागमन सजाय पूरा गरि डिपोबाट घरफिर्ता गरिएका बन्दीहरूमा ४९ जना बंगलादेशी, २४ इन्डोनेसियाली, १२ नेपाली, ९ पाकिस्तानी, ४ क्याम्बोडियाली, ४ भारतीय, ३ चिनियाँ, तथा लाओस, भियतनाम र सिंगापुरका २–२ नागरिक समावेश छन्।

ति व्यक्तिहरूलाई मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईए वन र केयलआईए टु, सेनई अन्तर्राष्ट्रिय विमानस्थल, स्टुलाङ लाउ फेरी टर्मिनल, र सुल्तान इस्कान्दार भवन प्रशासकीय परिसरमार्फत आ-आफ्ना मुलुक पठाइएको जोहर राज्य इमिग्रेशन विभागले जनाएको छ।

बन्दीहरूलाई स्वदेश फिर्ता गर्न आवश्यक हवाई टिकट तथा खर्च उनीहरूकै व्यक्तिगत बचत, परिवारको सहयोग तथा केही अवस्थामा सम्बन्धित देशको राजदूतावासले व्यहोरेको विभागले जानकारी दिएको छ। डिटेन्सन डेपोमा सजाय पूरा गरेका विदेशी नागरिकहरूको भीड नबढोस् भन्ने उद्देश्यले बन्दी प्रत्यावर्तन कार्यलाई नियमित रूपमा अगाडि बढाइने गरेको बताइएको छ।

यससँगै, बन्दीहरूको टिकट खरिद तथा अन्य स्वदेश फिर्तासम्बन्धी आवश्यक प्रक्रिया इमिग्रेशन डेपोमै उपलब्ध सेवा काउन्टरमार्फत गर्न सकिन्छ र कुनै प्रकारको ‘सेवा शुल्क’ नलाग्ने विभागले बताएको छ।