भदौ २४ गते ‘जेन-जी’ प्रदर्शन, आगजनी र तोडफोड घटनामा संलग्न २६७ जना पक्राउ, ४३ जना थुनामा।

काठमाडौं:= गत भदौ २४ गते ‘जेन-जी’ प्रदर्शन, आगजनी र तोडफोड लगायतका विध्वंसात्मक गतिविधिमा संलग्नमध्ये हालसम्म काठमाडौंबाट मात्रै २६७ जना पक्राउ परेका छन् । सोमबार काठमाडौं जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर ‘जेन-जी’ प्रदर्शनको आवरणमा विध्वंसात्मक गतिविधिमा संलग्नमध्ये २७६ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार पक्राउ परेकामध्ये ८७ जनालाई हाजिरी जमानीमा छाडिएको छ । त्यस्तै, ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । पक्राउ परेकामध्ये पाँचजना महिला छन् ।

उहाँले ‘जेन-जी’ आन्दोलनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको र पुनः पक्राउ गरिएका थुनुवाहरू ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेका तथा थप बाँकी १५ जना थुनुवाहरू समेत आफूहरूको सम्पर्कमा रहेको जानकारी दिनुभयो । उक्त प्रदर्शनमा ठूलो मानवीय क्षति भएको थियो ।

प्रदर्शनका क्रममा ४९ वटा मृत्युका घटना दर्ता भएका छन् । जसमध्ये सात जनाको हालसम्म पनि कुनै पहिचान खुल्न सकेको छैन । उनीहरूको पहिचानको लागि डिएनए परीक्षणका लागि पठाइएको र अझै केही समय लाग्ने बताइएको छ । सातवटा उजुरीहरू तामेलीमा राखिएको जानकारी दिँदै भट्टराईले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २२८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको बताउनुभएको छ ।

उक्त प्रदर्शनका क्रममा लुटिएका ८३ नाल हतियार बरामद गरिएको बताइएको छ । प्रदर्शनका क्रममा विवादमा आएको टिओबी बाइकर्स समूहका तेन्जिन दावा लामाबाहेक अरू तिब्बती मूलका नभएको प्रहरीले जानकारी दिएको छ ।

सर्वोच्च र अख्तियारसहित प्रहरीमा १०४ जाहेरी

भदौ २३ र २४ मा भएको ‘जेन-जी’ आन्दोलनको क्रममा भएका तोडफोड, आगजनी र आपराधिक उपद्रवसँग सम्बन्धित सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १०४ वटा जाहेरी परेको छ । जसमध्ये व्यक्तिगत रूपमा २२ वटा जाहेरी परेका छन् भने सरकारी कार्यालय/प्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, उक्त प्रदर्शनका क्रममा प्रयोग भएका मोटरसाइकलहरू प्रहरीले सार्वजनिक गरेको छ । आन्दोलन भइरहँदा ठुल्ठूला आवाज निकालेर सडकमा कुदाइएका, उच्छृंखल गतिविधिमा प्रयोग भएका करिब एक दर्जन मोटरसाइकलहरू प्रहरीले सार्वजनिक गरेको हो ।

समाचार स्रोत : दिपिका न्यौपाने / हिमालय टाईम्स पत्रीका ।