‘परान’ले नेपाली बक्स अफिसमा छलाङ मार्यो, अब विदेशमा पनि प्रदर्शन हुँदै।

काठमाडौं := सुपरहिट नेपाली कथानक चलचित्र ‘परान’ले नेपाली बक्स अफिसमा छलाङ मारिरहेको छ । यस चलचित्रले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ । चलचित्रले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ ।

वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका मोती कार्कीका अनुसार अष्ट्रेलियामा रहेका नेपाली दर्शकले ‘परान’प्रति देखाएको चासो प्रसंशा योग्य छ । नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ ।

नेपालको बक्स अफिसमा यस चलचित्रको कमाइ हालसम्म १४ करोड नाघेको छ । चौथो शनिबारसम्म फिल्मले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ । चलचित्रले चौथो शनिबार पनि एक करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो । यो चलचित्र गत कात्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । रिलिजअघि यस चलचित्रलाई उच्च व्यापार गर्न सक्ने फिल्मका रूपमा हेरिएको थिएन ।

दीपकप्रसाद आचार्य निर्देशित ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । चलचित्रमा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।