एजेन्सी := विश्वकप फुटबल जित्नेभन्दा पनि छनोट नै कठिन मानिन्छ । विश्वकप छनोटको लम्बाइ, जटिलता र दबाब आफैंमा छुट्टै प्रतियोगिताजस्तै हुन्छ । यही कारण आगामी सन् २०२६ को विश्वकप, जो अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ, अहिले छनोटको उत्कर्षमा पुगेको छ। विश्वकप नजिकिँदै गर्दा संसारभरको ध्यान अब अन्तिम टिकटका लागि भइरहेको निर्णायक संघर्षतर्फ मोडिएको छ ।
पहिलोपटक ४८ टोली सहभागी हुने यो संस्करणका लागि अहिलेसम्म ४३ देशले स्थान सुरक्षित गरिसकेका छन् । तीमध्ये धेरैले ऐतिहासिकरूपमा सहभागी हुने मौका पाए, कतिपयको नाम धेरैका लागि अपरिचित पनि हुन सक्छ । अब बाँकी रहेका आठ स्थानका लागि विभिन्न महादेशमा प्लेअफ र अन्तरमहादेशीय भिडन्त जारी छन् । तीन महिनापछि मात्र सबै ४८ राष्ट्रको सूची पूर्ण हुनेछ ।
नेपालसमेत पर्ने एएफसी क्षेत्रबाट आठ देशले विश्वकप यात्रा सुनिश्चित गरिसकेका छन् । एसियाबाट अष्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्वेकिस्तानले विश्वकपको टिकट काटेका छन् । एसियाका यी टोलीमध्ये कतिपय नियमित सहभागी हुन् भने कतिपयका लागि यो ऐतिहासिक अवसर बनेको छ ।
आयोजकका रूपमा अमेरिका, क्यानडा र मेक्सिको स्वतः छनोट भएका हुन् । अफ्रिकी महादेशबाट अल्जेरिया, केप भर्दे, इजिप्ट, घाना, आइभरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसियाले टिकट काटिसकेका छन् । विश्व फुटबलमा शक्तिशाली मानिने इटाली भने अझै पनि स्पष्टरूपमा छनोट हुन सकेको छैन । उनीहरूको आशा अब युरोपेली प्लेअफमा बाँकी छ । अब युरोपेली प्लेअफबाट निस्कने नतिजाले मात्र इटालीको भाग्य खुल्नेछ वा ढोका बन्द हुनेछ भन्ने टुंगो लाग्नेछ ।
युरोपले फेरि पनि आफूलाई फुटबलको केन्द्र साबित गरेको छ। अहिलेसम्म अष्ट्रिया, बेल्जियम, क्रोएसिया, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन र स्विटजरल्याण्डले विश्वकप प्रवेशको टिकट सुरक्षित गरिसकेका छन् । अझै चार टोली युरोपबाट सिधै छनोट हुनेछन्, त्यसपछि मात्र अन्तरमहादेशीय प्लेअफ खेलिनेछ ।
दक्षिण र उत्तर अमेरिकी क्षेत्रबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे, क्युरासाओ, पानामा र हाइटी विश्वकपका लागि तयार छन् । यीमध्ये क्युरासाओ धेरैका लागि अप्रत्याशित नाम हो, एक लाख ५६ हजारमात्रै जनसंख्या भएको यो राष्ट्र विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश बनेको छ । ओसियानियाबाट भने पूर्वानुमानअनुसार न्युजिल्याण्डले प्रतिनिधित्व गर्नेछ ।
यी बलिया टोली छनोट हुन सकेनन्
प्रत्येक संस्करणमा केही बलिया टोली चुक्ने गर्छन् । यसपटक पनि केही नामले फुटबल विश्वलाई निराश पारेका छन् । नाइजेरिया र चिलीजस्ता परम्परागत प्रतिस्पर्धी टिम बाहिरिए। त्यस्तै क्यामरुन, माली, कोस्टारिका, ग्रिस र सर्बिया पनि विश्वकप पुग्न असफल भएका छन् । एसियाबाट चीन र भारतको यात्रा त पहिल्यै समाप्त भइसकेको छ।
डिसेम्बर महिनामा विश्वकपको ग्रुप-ड्र निकालिनेछ । त्यसअघि हुने प्लेअफ र अन्तरमहादेशीय द्वन्द्व अहिलेको सबैभन्दा रोचक फुटबल अध्याय बनेको छ । सात महिनामै विश्वकपको महोत्सव सुरु हुँदैछ तर त्यसभन्दा अगाडि सबै राष्ट्रलाई सपना पूरा गर्न फाइनल कदम पार गर्नुपर्नेछ ।




















