दूतावास र पिएनसिसिको समन्वयमा पाँच वर्षदेखि मलेसियामै बेपत्ता दिपेन्द्रको उद्दार गरि स्वदेश फर्काइयो।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावास र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) को संयुक्त पहलमा पाँच वर्षदेखि मलेसियानै बेपत्ता भएको भनिएको दिपेन्द्र शर्मालाई स्वदेश फर्काइएको छ।

उनलाई केही दिनअगाडि मलेसियाको पेनाङस्थित एक मन्दिरको शरणमा बेवारिसे अवस्थामा बसोबास गरिरहेको ठाउँबाट उद्धार गरी हिजो शनिबार स्वदेश फर्काइएको हो।

पिएनसिसि मलेसियाका संयोजक पूर्ण सुब्बा लिम्बुले दिएको जानकारीअनुसार नेपाल ठेगाना राजगढ–५ मलेकपुर, सप्तरी निवासी दिपेन्द्र कुमार शर्मा ९ वर्षअघि रोजगारीका सिलसिलामा मलेसिया आएका थिए। कम्पनीले भनेअनुसारको सेवा–सुविधा नदिएपछि उनले रोजगारदाता कम्पनी छोडेर अवैधानिक भई काम गर्दै आएका थिए।

यस क्रममा उनी विगत पाँच वर्षदेखि घर–परिवारसँग पूर्ण रूपमा सम्पर्कविहीन बनेका थिए। मलेसियामै कार्यरत छिमेकी दाजु शोवित दासले दिपेन्द्रको खोजी र उद्धारका लागि दूतावास र पिएनसिसिलाई अनुरोध गरेपछि दूतावास र पिएनसिसिले संयुक्त रूपमा खोजी प्रक्रिया सुरु गरेको थियो। खोजीको क्रममा पेनाङस्थित एक चाइनिज मन्दिरमा दिपेन्द्र बेवारिसे अवस्थामा फेला परेका थिए।

दूतावासको समन्वयमा पिएनसिसिका आउटरिच अफिसर सुरेश देवकोटाले १७/११/२०२५ का दिन मन्दिरबाट दिपेन्द्रलाई उद्धार गरी नेपाली दूतावास क्वालालम्पुरमा ल्याएका थिए। दूतावासले उनलाई तत्काल निःशुल्क एकतर्फी यात्रा अनुमति (Travel Document) प्रदान गरेको थियो।

मानसिक तथा शारीरिक स्वास्थ्य अवस्था कमजोर देखिएको कारण दूतावास र PNCC को निगरानीमा राखी सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्दै नेपाल फर्काउने प्रक्रिया अघि बढाएको थियो।

दिपेन्द्रलाई स्वदेश फर्काउने सम्पूर्ण प्रक्रिया नेपाल दूतावास, पिएनसिसि लगायत संघसंस्थाको सहयोगमा अघि बढाइएको थियो। आवश्यक कागजपत्र दूतावासले तयार गर्‍यो भने नेपाल फर्कने सम्पूर्ण खर्च दिपेन्द्रका परिवारले नै व्यहोरेका थिए।

स्वदेश फर्किंदै गर्दा दिपेन्द्रले नेपाल दूतावास मलेसिया, पिएनसिसि लगायत सबैजना सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गर्दै भने – अब नेपालमै बसेर फर्निचरको काम गर्नेछु, विदेश नजाने निर्णय गरेको छु।