काठमाडौं := नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ । पछिल्लो आठ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा तेस्रोबाट चौथो स्थानमा झरेको हो ।
फिफाले जारी गरेको नयाँ वरीयताअनुसार नेपाल १८२औँ स्थानमा ओर्लिएको छ । अघिल्लो वरीयताभन्दा नेपाल दुई स्थान झरेको हो । नयाँ वरीयताअनुसार नेपाललाई पछि पार्दै बंगलादेश तीन स्थान उक्लिएर १८०औँ स्थानमा पुगेको छ । भारत १४२औँ र माल्दिभ्स १४७औँ स्थानमा छन् ।
बंगलादेशले यसै साता एएफसी एसियन कप छनोटमा भारतलाई १-० ले हराएको थियो । त्यसअघि नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २-२ को बराबरीमा टुंगिएको थियो । नेपाल एसियन कप छनोटमा मलेसियासँग १-० ले पराजित भएको थियो ।
अब नेपालभन्दा वरीयतामा भुटान, श्रीलंका र पाकिस्तान पछि छन् । फिफा वरीयताको शीर्ष चारमध्ये स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ । ब्राजिल पाँचौं स्थानमा उक्लिएको छ ।




















