एनपीएलको दोस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै।

काठमाडौं := नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ । दिउँसो ०४:०० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

खेलमा दुई राष्ट्रिय स्टारहरू कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी आ-आफ्नो टोलीको नेतृत्व गर्दै आमने-सामने हुँदैछन् ।आजको खेल केवल पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको प्रतिस्पर्धा मात्र होइन, यो राष्ट्रिय टिमका विस्फोटक ओपनर र चतुर अलराउन्डरबीचको रणनीतिक लडाइँ पनि हो ।

पोखरा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ भने सुदूरपश्चिम राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ।नेपाली क्रिकेटमा कुशल राम्रो ब्याट्सम्यानको रुपमा चिनिन्छन्। अघिल्लो खेलमा कुशलले हिर्काएको सिक्सले स्टार स्पोटर्सको कमेन्टेटर बक्सको सिसासमेत फुटेको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र अलराउन्डर हुन्। उनको बल, ब्याट र फिल्डको गतिलाई रोक्न विपक्षीलााई धौधौ पर्छ। यी दुई कप्तान रहेको टिमको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ। एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ।

जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन्। पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ। एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ।

मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।