‘जेन-जी’ मधेस प्रदेश संयोजकले बाराको सिमरा चोकमा मंगलबार ‘जेन-जी’ बारा समितिको कार्यक्रममा नेकपा एमालेनिकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएकोे दाबी गरेका छन् । मधेस प्रदेश संयोजक शिव यादवका अनुसार ‘जेन-जी’ बारा संयोजक सम्राट् उपाध्यायसहितका ‘जेन-जी’ युवामाथि कुटपिट हुँदा दर्जनौँ घाइते भएका छन् ।
संयोजक यादवले फेसबुकमा लेख्दै बुधबारको घटना एमालेको सुनियोजित षड्यन्त्र भएको पनि आरोप लगाउनुभएको छ । यादवका अनुसार सिमरा चोकमा ‘जेन-जी’ को पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालितले कार्यक्रम भाँडेका हुन् ।
‘जेन-जी’ले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्नुभएका यादवले आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भएको दाबी गर्दै भन्नुभयो, ‘मधेसमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेसको शान्ति सुरक्षामै खलल पुर्याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु ।’




















