एजेन्सी := मानवताविरुद्धको अपराध गरेको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष जुलाई-अगस्टमा भएको आल्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
बंगलादेशी मिडिया द-डेली स्टारका अनुसार त्यहाँको अन्तर्राष्ट्रिय अपराध अदालतको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश गरेको हो । भारतमा निर्वासनमा रहेकै बेला हसिनाको उपस्थितिबिनै अदालतले मुद्दा चलाएको हो । ४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले ६ भागमा फैसला सुनाइने बताएका थिए । फैसलाको घोषणा बंगलादेशी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
प्रदर्शन दबाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएकोसमेत इजलासले ठहर गरेको छ । अदालतले यस क्रममा ५४ जनाको बयानलाई आधार मानिएको पनि प्रस्ट पारेको छ । हसिना अदालतको यो सुनुवाइ प्रक्रियामा सामेल भइनन् । उनी हाल भारतमा छिन् ।



















