सेनाइको एक प्लास्टिक कारखानामा छापा मार्दा १२३ जना विदेशी कामदार पक्राउ

कुलाई (जोहोर):= मलेसियाको अध्यागमन विभागले जोहोरको सेनाइ उद्योग क्षेत्रमा रहेको एक प्लास्टिक कारखानामा सञ्चालन गरेको छापामा १२३ जना विदेशी कामदारलाई पक्राउ गरेको छ।

सो कारखानामा धेरैजना विदेशीहरुले आवश्यक कागजात बिना नै काम गर्दै आएको आशङ्काको आधारमा छापानारी गरिएको थियो । जोहोर अध्यागमन विभाग “इमिग्रेशन”का निर्देशक दातुक मोहम्मद रुज्दी मोहद दारुसका अनुसार अपरेसन नोभेम्बर १४, शुक्रबार साँझ ७ बजे सुरु गरिएको थियो।

“छापा धरपकड सुरु भएपछि केही कामदारहरू भाग्ने प्रयासमा लुकेर बस्न खोजे पनि हाम्रो टोलीले सबै निस्कने मार्ग बन्द गर्‍यो,” रुज्दीले भने। रुज्दीका अनुसार केही हप्तादेखिको निगरानी र स्थानीयहरूले गरेको गुनासोपछि छापामारी गरिएको हो। धेरै उद्योगहरूले खर्च घटाउन कानुनी कागजात नभएका कामदार राखेको जानकारी आएको थियो।

पक्राउ परेकाहरूको विवरण अनुसार उमेर २० देखि ४८ वर्षसम्मका समावेश छन् । पक्राउ पर्नेमा ४५ जना बङ्गलादेशी पुरुष , २३ जना म्यान्मारका पुरुष , ३ जना भारतीय पुरुष , १ जना नेपाली पुरुष , ४८ जना म्यान्मारकी महिला , १ जना नेपाली महिला , १ जना भारतीय महिला रहेको जनाएको छ ।उनीहरूसंग वैध पास नभएको, काम गर्ने अनुमतिबिना काम गरेको र कानुनी कागजात प्रस्तुत गर्न नसकेको अभियोगमा पक्राउ गरिएको विभागले जनाएको हो।

स्थानीय एचआर अधिकारी पनि पक्राउ :

कारखाना व्यवस्थापन पक्षबाट एक स्थानीय मानव संसाधन (एचआर) अधिकृतलाई समेत अवैध कामदार राखेको अभियोगमा पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि सेटिया ट्रोपिका अध्यागमन डिपोमा राखिएको छ। यो घटना अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत अनुसन्धान भइरहेको विभागले बताएको छ।