क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस निकट प्रवास संगठन “नेपाली जनसम्पर्क समिति मलेसिया”ले दुई जना गम्भीर बिरामीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाल ठेगाना काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका–६ मेदाम्सुकी कमला मोक्तानलाई आकस्मिक कलेजो प्रत्यारोपण आवश्यक भई आर्थिक संकट परेको अवस्थाबारे जानकारी आएपछि समितिले नेपाली रु.२३,३००/- रकम परिवारको खातामा जम्मा गरि हस्तान्तरण गरेको छ।
त्यस्तै, तिलोत्तमा–७, रुपन्देहीका १६ वर्षीय शुभम उपाध्याय ज्ञवाली, दुर्लभ तथा जटिल रोग Hemophagocytic Lympho-histiocytosis (HLH) बाट पीडित भई भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूटमा उपचाररत रहेका छन्। उहाँको उपचार सहयोगार्थ संकलित नेपाली रु. १०,२६०/- रकमसमेत बिरामीका अभिभावकको खातामा जम्मा गरिएको समितिले जनाएको छ।

सहयोग हस्तान्तरण कार्य नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको समन्वयमा तथा सह–कोषाध्यक्ष इन्द्रप्रकाश भण्डारीको सक्रियतामा सम्पन्न गरिएको हो। समितिले यस कदमलाई सामाजिक उत्तरदायित्वको निरन्तर अभ्यासका रूपमा व्याख्या गरेको छ।
समितिका सभापति पंगेनीले भने, “आपत–विपतका कठिन घडीमा एक–अर्काको साथ दिनु नै नेपाली समाजको पहिचान हो। सामूहिक सहयोगले बिरामी र परिवारको मनोबल बढाउन ठूलो भूमिका खेल्छ। हामी जनसम्पर्क समितिले बिगतदेखिनै मलेसियामा पीडित मात्रै नभैइ , नेपालमा पनि पीडित हरुलाई सक्दो आर्थिक भौतिक सहयोग गर्दै आएका छौँ।”
समितिले दुवै बिरामीलाई सफल उपचार तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै सहयोगी समितिका सबै साथी, दाजुभाइ तथा दिदिबहिनीहरूलाई हार्दिक धन्यवाद प्रकट गरेको छ।




















