एनपिएलको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा, टिकट ‘सोल्ड आउट’।

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै क्यानले मंसिर १ गतेदेखि सुरु हुने एनपिएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजनाअनुसार पहिलोपटक एनपिएल फ्लडलाइटमुनि हुने क्यानका सचिव पारस खड्काले बताउनुभयो ।

एनपिएलको दोस्रो संस्करणबाट करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा क्यानले गरेको छ । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार टिम ओनरबाट मात्रै करिब नौ करोड रुपैयाँ जुटिसकेको छ भने ओटिटी प्रसारण अधिकारबाट पाँच करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसलाई यसपटकको लिगको प्रमुख आम्दानी स्रोत मानिएको छ । ‘टिम ओनरबाट नौ करोड प्राप्त हुनेछ । यसपटक डिजिटल प्लाटफर्ट ओटिटी ल्याएका छौं,’ उहाँले थप आयबारे जानकारी दिँदै भन्नुभयो, ‘डिसहोमको डिसहोम गोबाट पाँच करोड ३० लाखमा बिड भएको छ । संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिसहोमको रहनेछ,’ उहाँले भन्नुभयो ।

टिकट बिक्रीबाट न्यूनतम आठ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म आम्दानी हुने लक्ष्य राखिएको छ । खेलप्रति बढ्दो रुचि र मैदान क्षमतासँगै यो रकम अझ बढ्न सक्ने सम्भावना छ । मुख्य तथा अन्य स्पोन्सरसिपबाट करिब १५ करोड रुपैयाँसम्मको प्याकेज सुरक्षित भएको खड्काले जानकारी दिनुभयो । यसरी दोस्रो संस्करणको एनपिएलको कुल आय ३०-४० करोड रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार यसले नेपाली फ्रेन्चाइज क्रिकेटको आर्थिक स्थायित्वमा सकारात्मक संकेत दिएको छ ।

एनपिएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन् । जसमा विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, काठमााडौं गोर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स रहेका छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् । एनपिएलको उद्घाटन खेल मंसिर १ गते साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ । प्रतियोगिता आगामी २७ मंसिरसम्म चल्नेछ ।

पुरस्कार राशिमा वृद्धि नहुने

एनपिएलको दोस्रो संस्करणमा पुरस्कार राशिमा वृद्धि नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पहिलो संस्करणमा दिइएको पुरस्कार राशिलाई यसपटक पनि निरन्तरता दिइएको हो । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ हात पारेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझाएको थियो । तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

उत्सव मनाउन तयार छ कीर्तिपुर रंगशाला

नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला तयार पारिएको छ । सोमबारदेखि सुरु हुने एनपिएलको दोस्रो सिजन सुरु हुनुअघि क्रिकेट रंगशाला तयार पारिएको हो । पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको छ । रंगशालामा फ्लडलाइट जडानको काम सकिएको छ । निर्माण कम्पनी विशन–ईश्वरी जोइन्ट भेन्चर ललितपुरका प्रोजेक्ट म्यानेजर सौरभ शाहका अनुसार मैदानमा राखिएका ६ वटा पोलमा नै फ्लडलाइट जडान सकिएको हो ।

एउटा पोलमा ७० वटा लाइट गरेर सबै पोलमा ४२० लाइट जडान भएका छन् । फ्लडलाइट जडान गर्न भारतबाट पनि कामदार ल्याएर सिफ्टअनुसार काम गरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको थियो । त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर क्यानले यस मैदानमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।

२४ घण्टामै पहिलो दिनको टिकट ‘सोल्ड आउट’


एनपिएलको दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । अत्यधिक ट्राफिक र मागलाई मध्यनजर गर्दै यस सिजनका लागि खल्तीले आफ्नो सर्भर क्षमता बढाएको थियो। अहिले सिट संख्या निश्चित भएकाले टिकट बिक्रीमा पनि सहजता भएको खल्तीले जनाएको छ । क्यानले खल्तीलाई करिब आठ हजार टिकट बेच्न दिएको थियो ।

साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि ५०० रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ । यस्तै, प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्ले अफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्नेछ ।

चार विदेशी कमेन्टेटर

क्यानले एनपिएल सिजन २ का लागि चार विदेशी कमेन्टेटर भिœयाएको छ । क्यानले नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत् चार विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको हो । जसमा तीन कमेन्टेटर पहिलो सिजनकै दोहोरिएका छन् भने एक नयाँ कमेन्टेटर हुन् ।अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुनुहुन्छ । उहाँले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आउनुभएको छ ।

एन्ड्रयुसहित एचडी अकरम्यान, मिखाइल वासवानी र फजल आर खलीललाई क्यानले कमेन्ट्रीका लागि भिœयाएको हो । एन्ड्रयु, अकरम्यान र मिखाइलले पहिलो एनपिएलमा कमेन्ट्री गर्नुभएको थियो । अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुनुहुन्छ । उहाँले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेल्नुभएको थियो । अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरका रूपमा काम गरिरहनुभएको छ । मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुनुहुन्छ । यस्तै फजल भारतका पूर्वखेलाडी हुनुहुन्छ ।