क्वालालम्पुर (मलेसिया):= मलेसियाको शाहआलम कोता केमुनिङस्थित एक अपार्टमेन्टमा बिरालोलाई जबर्जस्ती करणी (लैंगिक दुर्व्यवहार) गरेको र त्यसपछि चौथो तलाबाट फालेको आरोपमा सुरक्षागार्डमा कार्यरत एक नेपाली पुरुष पक्राउ परेका छन्।
शाह आलम जिल्ला प्रहरीका कार्यवाहक प्रमुख सुपरिटेन्डेन्ट र्याम्से एम्बोलका अनुसार घटना बुधवार राति करिब १२:३० बजे एक घरधनीले देखेपछि उजुरी दर्ता भएको हो। सोही उजुरीका आधारमा ती नेपाली सुरक्षागार्डलाई पक्राउ गरिएको जनाइएको छ।
प्रहरीका अनुसार, उजुरीकर्ता र उनका पति घर फर्कँदै गर्दा पाङ्ग्सापुरीको पार्किङ क्षेत्रमा एक पुरुष नग्न अवस्थामा बिरालोलाई निर्दयतापूर्वक करणी र दुर्व्यवहार गरिरहेको देखे। उजुरीकर्ताका पति चौथो तलामा पुगेपछि रोक्न खोज्दा, ती आरोपित नेपालीले बिरालोलाई तल फालेर भागेका थिए।
यो दृश्य उजुरीकर्ताले मोबाइलमा पनि कैद गरेको प्रमाण फेला परेको प्रहरीले बताएको छ। स्रोतका आधारमा प्रहरीले बिहान ४:४५ बजे ३३ वर्षीय नेपाली पुरुषलाई पक्राउ गरेको छ। उनी सोही अपार्टमेन्टमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेका थिए।
प्रारम्भिक अनुसन्धानको क्रममा आरोपीमा कुनै मानसिक समस्या नभई मदिराको नशामा रहेको पत्ता लागेको छ। चौथो तल्लाबाट फालिएको बिरालो भने अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ।
आरोपीलाई अदालतको आदेशअनुसार १५–१९ नोभेम्बरसम्म पाँच दिनका लागि थुनामा राखिएको छ। मामिला मलेसिया फौजदारी संहिता धारा ३७७ (जनावरसँग जबरजस्ती करणी) र धारा ४२८ (जनावरलाई क्षति पुर्याएको) अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाबारे थप जानकारी भएका व्यक्तिलाई अनुसन्धान अधिकृत इन्स्पेक्टर मोहम्मद जुल्किफ्ली मोहम्मद (फोन: ०१११-६९५८५२९) मा सम्पर्क गर्न आग्रह गरेको छ।




















