पिएनसिसिको सक्रियता र समन्वयमा शुकलाल मलेसियाबाट सकुशल स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया): मलेसियन अध्यागमन विभाग “इमिग्रेशन”द्वारा गरिएको छापामारि-धरपकडमा पक्राउ परी सजाय भोगेका सुनसरी–८ स्थायी घर भएका शुकलाल उरनलाई अन्ततः सकुशल स्वदेश फर्काइएको छ।

उरन अध्यागमनद्वारा पक्राउ परी सजाय पूरा भई पाँच महिना बितिसक्दा पनि पारिवारिक आर्थिक अभावका कारण घरफिर्ती केन्द्र अर्थात् डिटेन्सन क्याम्पमै अल्झिएर बस्न बाध्य थिए।

उनलाई स्वदेश फर्काउन प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि” मलेसियाले पहलकदमी चाली गोर्खा एसोसिएसन मलेसियाका अध्यक्ष रोशन राणासँग समन्वय गरी आवश्यक हवाई टिकट उपलब्ध गराएपछि उरन नोभेम्बर १३ तारिख बितेको बिहीबारको दिन नेपाल फर्किएका हुन्।

सकुशल काठमाडौं पुगेका उरनलाई पिएनसिसिले आफ्नो सेल्टर हाउसमा राखेका छन्। काठमाडौंमा उनको परिवार आजै आउने भएकोले आजै जिम्मा लगाउने र घरसम्मको सम्पूर्ण यात्रा खर्च पिएनसिसिले नै व्यहोर्ने मलेसिया संयोजक पूर्ण सुब्बा लिम्बुले जानकारी दिनुभयो।