काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्नुपर्ने बताउनु भएकाे छ । पार्टीका सचिवालय सदस्य सन्तोष परियारले हालै पार्टी छाड्नुभएको छ ।
यसै सन्दर्भमासामाजिक सञ्जालमार्फत् कार्कीले लेख्नुभएकाे छ, “सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भएपछि पार्टी छोड्नु परेको होला। तर अस्ति सुमनाले छोड्दा त त्यस्तो नियम नै थिएन, किन छोडिन्? सांसद नभएका केन्द्रिय सदस्य डा. प्रभात र हरीले पनि पार्टी छोडे, तिनले के नपाएर छोडे? अब प्रत्यक्ष जितेकाहरूले पनि छोड्ने भए तिनलाई के भन्ने?”
कार्कीले समस्या समाधानका लागि सामूहिक प्रयास र निर्णयको अभ्यास आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयाे, “जानेलाई आरोप लगाउनु होइन, छोड्नुको कारण बुझ्नुपर्छ।”
पछिल्लो समय रास्वपाका नेतृत्व परिवर्तनको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी जनार्दन शर्मा, घनश्याम भुसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले बताएको छ ।




















