मलेसियाको सडकमा भौँतारिइरहेका नेपाली नागरिक मजाकोटीको उद्धार गरी स्वदेश फर्काइँदै।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा यतिबेला नेपाली राजदूतावास र प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि” मलेसिया संस्था पीडित नेपाली श्रमिकको उद्धार कार्यमा निकै सक्रियताका साथ लागेको देखिन्छ।

राजदूतावास र पिएनसिसिद्वारा श्रमिक उद्धारकै क्रममा पुनः मलेसियाको सडकमा भौँतारिइरहेका नेपाली नागरिक तेजबहादुर मजाकोटीको उद्धार गरी स्वदेश फर्काउने अन्तिम तयारी पूरा भएको छ। मजाकोटीलाई नेपाल फर्कनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले एकतर्फी हवाई टिकट प्रदान गरेको हो।

पिएनसिसि (प्रवासी नेपाली समन्वय समिति) को आग्रहमा एनआरएनए मलेसियाले मजाकोटीका लागि नोभेम्बर १६ तारिखको उडानका लागि वाटिक एयरको टिकट उपलब्ध गराएको हो। एनआरएन मलेसियाका अध्यक्ष ईन्द्र नारायण लिम्बुको पहलमा गरिएको यो सहयोगले उद्धार कार्यमा राहत पुर्‍याएको बताइएको छ।

परिवारका अनुसार, १६ वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका मजाकोटी विगत केही वर्षदेखि सम्पर्कविहीन थिए। लामो समयसम्म कुनै अत्तोपत्तो नभएपछि परिवारले पिएनसिसि मार्फत खोजीका लागि आग्रह गरेको थियो।

पिएनसिसि मलेसियाका संयोजक पूर्ण सुब्बाका अनुसार बुकित बिन्ताङ क्षेत्रबाट फेला परेका मजाकोटीलाई नेपाली राजदूतावाससँगको समन्वयमा उद्धार गरिएको हो।

उनलाई आकस्मिक आवास र प्राथमिक उपचारका लागि क्रिस्टिना केयर सेन्टरमा राखिएको र त्यसको खर्च दूतावासले बेहोरेको बताइएको छ। साथै, ट्राभल डकुमेन्ट र अध्यागमनसम्बन्धी सम्पूर्ण खर्च पनि दूतावासले नै व्यहोरेको छ।

“मजाकोटीका लागि हवाई टिकट उपलब्ध भएको छ। अब उहाँलाई नेपाल फर्किनका लागि आवश्यक सम्पूर्ण कागजपत्र तयार भइसकेको छ,” राजदूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले जानकारी दिए।

राजदूतावासका अनुसार मजाकोटी आइतबार बातिक एयरको उडानमार्फत नेपाल फर्किँदै हुनुहुन्छ। राजदूतावासमा दिनहुुँजसो पीडितहरू आउने गरेका छन्। ती सबै पीडितहरूको अवस्था बुझी दूतावासले आफ्नै सक्रियतामा उद्धार गरी नेपाल फर्काउने गरेको छ।