भारत := भारतको बिहार विधानसभा चुनावको नतिजा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) को पक्षमा देखिएको छ । २४३ सिटमा भएको चुनावमा विपक्षी महागठबन्धनमाथि एनडिएले भारी विजय प्राप्त गरेको छ । यो समाचार तयार पार्दासम्म एनडिएले १६५ स्थानमा जित हासिल गरिसकेको छ भने ३७ स्थानमा अग्रता कायम राखेको छ। यसैगरी, विपक्षी महागठबन्धनले २३ ठाउँमा जितेर १२ ठाउँमा अग्रता लिएको छ । अन्यको पाँच स्थानमा जितेर एक ठाउँमा अग्रता छ । बिहारमा सत्तारूढ एनडिए र विपक्षी महागठबन्धनबीचको प्रतिस्पर्धा चर्कै हुने अनुमान लगाइएको थियो ।महागठबन्धनका उम्मेदवारहरूलाई चुनावी अभियानका दौरान जनताको राम्रो साथ मिलेजस्तो देखिन्थ्यो।
तर, ब्यालेट बक्समा अलग देखियो । यस गठबन्धनका मुख्य घटक राष्ट्रिय जनता पार्टी (राजद) ३२ , कंग्रेस ६ र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी ) ६ स्थानमा अघि छन् । जबकि अघिल्लो निर्वाचनमा ७५ सिट जितेर राजद सबैभन्दा ठूलो दल बनेको थियो। यसपटक निर्वाचनमा ठूलो संख्यामा महिला र वृद्धवृद्धाले मत खसाले । कुल मतमध्ये ७१ दशमलव ६ प्रतिशत महिला र ६२ दशमलव आठ प्रतिशत पुरुष थिए । सरकारले निर्वाचनको केही समयअघि मात्रै एक करोड ४० लाख महिलाको खातामा १० हजार भारु सहायतास्वरूप सिधा पठाइदिएको थियो । मुख्यमन्त्री महिला रोजगार योजनाअन्तर्गत पठाइएको यो रकम महिला सशक्तिकरण र कल्याणकारी योजना मानिन्छ । यसले महिला उद्यमी तयार गर्ने लक्ष्य राखेको छ र पारदर्शी रूपमै यो पैसा खातामा पठाइएको हो ।
यद्यपि, निर्वाचनको मुखमा सरकारले पैसा वितरण गर्दाको प्रभाव रूपमा मतपत्रमा देखिएको छ । विपक्षी महागठबन्धनले यसरी चुनावको मुखमा पैसा पठाउने कार्यको विरोध गरे पनि त्यसलाई रोक्न सकेन । अर्कोतर्फ उसले आफैं पनि विजयी भएमा विभिन्न स्किम ल्याउने घोषणा गरेको थियो। मुख्यमन्त्रीका भावी उम्मेदवारका रूपमा प्रचार गरिएका महागठबन्धनका तेजस्वी यादवले आफू विजयी भएमा महिलालाई २५ सय प्रतिमहिना भत्ता दिने घोषणा गर्नुभएको थियो। तर, उहाँलाई जनताले पत्याएको देखिएन । त्यस्तै, नयाँ सरकार बनेको २० दिनभित्र एक घरका कम्तीमा एकजनालाई रोजगारी दिने विधेयक सदनमा पेस गर्ने घोषणा पनि गर्नुभएको थियो । ज्येष्ठ नागरिक भत्ता चार सयबाट बढाएर ११ सय भारुमा लैजानु मुख्यमन्त्री नीतिशकुमारको अर्को सफलता थियो । विधवा, अपांगता भएका व्यक्ति र राज्यको सामाजिक सुरक्षा भत्ता पनि बढाइएको थियो । जसबाट कुल एक करोड ९० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित थियो ।
ठूलो संख्यामा ज्येष्ठ नागरिक यसपटक नीतिशकुमारको पक्षमा र्यालीमा देखिएका थिए । १२५ युनिटसम्म बिजुली सित्तैमा दिने एनडिए गठबन्धनको घोषणा अर्को गेम चेन्जर बन्यो । जनताका सुख-दुःखमा सरकार साथ रहेको देखाउन यस्तो योजना अघि बढाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताले पनि एनडिएका पक्षमा जनलहर ल्याउन सहयोग पु¥याएको छ । जदयू कार्यकर्ताहरूले मुख्यमन्त्री नीतिशकुमारलाई बिहारको विकासको मसिहाका रूपमा चित्रण गरेका थिए । उनीहरूले ’सुशासन र विकासका लागि एनडिए’ सरकार नारा दिएका थिए । अहिले भाजपा र जदयूका कार्यालयमा खुसियाली सुरु भइसकेको छ । जदयू कार्यकर्ताहरूले ‘फिर एक बार नीतिश सरकार ’ नारा लगाएका छन् ।
बिहारमा नयाँ ‘एम-वाई’ फार्मुला बनेको छ : प्रधानमन्त्री मोदी
बिहारका चुनाव परिणाम सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडिएले प्राप्त गरेको भारी अग्रतालाई ऐतिहासिक सफलता भन्दै प्रतिक्रिया व्यक्त गर्नुभएको छ । उहाँले पूर्वमा केही दलहरूले प्रयोग गर्ने गरेको ‘तुष्टिकरण-आधारित एम-वाई फार्मुला’ (मुस्लिम-यादव) अब भत्किएको बताउँदै नयाँ सकारात्मक एम-वाई फार्मुला जन्मिएको घोषणा गर्नुभयोे, ‘महिला र युवा’ । दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘बिहारमा केही दलहरूले तुष्टिकरणमा आधारित एम–वाई फार्मुला बनाएका थिए ।
आजको जितले नयाँ सकारात्मक एम-वाई फार्मुला दिएको छ- महिला र युवा ।’ प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘बिहार देशका ती राज्यहरूमध्ये एक हो जहाँ सबैभन्दा धेरै युवा जनसंख्या छ- र ती सबै धर्म, समुदाय र जातिका छन् । उनीहरूको इच्छा, आकांक्षा र सपनाहरूले पुरानै साम्प्रदायिक एम-वाई फार्मुलालाई ध्वस्त पारेको छ । म बिहारका युवाहरू, दिदीबहिनीहरू, किसान, मजदुर, व्यापारी तथा माछापालन गर्ने सबैलाई बधाई दिन चाहन्छु ।’ आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले मुख्यमन्त्री नीतिश कुमारको खुलेर प्रशंसा गर्नुभयो ।
‘नीतिशजीले उत्कृष्ट नेतृत्व दिए । भाजपा नेताहरूले अथक मेहनत गरे । एनडिए कार्यकर्ताहरूले बुथ तहमा अद्भूत तालमेल मिलाए,’ उहाँले भन्नुभयो । मतगणनामा एनडिएलाई ठूलो अन्तरले अग्रता देखिएपछि प्रधानमन्त्री मोदीले उत्साहित ढंगमा भन्नुभयो, ‘बिहारका जनताले गर्दा उडाइदिए । मैले जनतासमक्ष प्रचण्ड विजय दिलाउन आग्रह गरेको थिएँ, जनताले नै स्वीकारे- २०१० पछि यो सबैभन्दा ठूलो जनादेश हो ।’ उहाँले थप्नुभयो, ‘हामी एनडिएका साथीहरू जनता-जनार्दनका सेवक हौँ । हाम्रो मेहनतले हामी जनताको मन जितिरहेकै छौँ । त्यसैले बिहारले फेरि एकपटक एनडिए सरकारका लागि स्पष्ट संकेत दिएको छ ।’ प्रधानमन्त्री मोदीले आरजेडी र कांग्रेसलाई लक्षित गर्दै भन्नुभयोे, ‘चुनावमा जंगलराज र ‘कट्टा सरकार’को कुरा गर्दा आरजेडी त केही बोल्दैनथ्यो, तर कांग्रेसलाई चर्को आपत्ति हुन्थ्यो । अब ‘कट्टा सरकार’ फर्केर आउनेवाला छैन ।’
नीतिश कुमारको प्रतिक्रिया-बिहार अझ अघि बढ्नेछ।
बिहार विधानसभा चुनावका ताजा नतिजा सार्वजनिक भइरहेकै बेला मुख्यमन्त्री नीतिश कुमारले प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसहित गठबन्धनका सबै सहयोगीप्रति आभार प्रकट गर्नुभएको छ । एक्समा लेखिएको आफ्नो पोस्टमा उहाँले भन्नुभएको छ, ‘बिहार विधानसभा चुनाव-२०२५ मा राज्यवासीहरूले हामीलाई भारी बहुमत प्रदान गर्दै हाम्रो सरकारप्रति भरोसा प्रकट गर्नुभएको छ । यसका लागि राज्यका सबै सम्मानित मतदाताहरूलाई म नमन गर्छु, हृदयदेखि आभार र धन्यवाद व्यक्त गर्दछु । कआदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले दिनुभएको सहयोगका लागि उहाँप्रति पनि म नमन गर्दै हार्दिक आभार प्रकट गर्दछु ।’ उहाँले एनडिए गठबन्धनको एकताबद्ध प्रयत्नले यो परिणाम सम्भव भएको उल्लेख गर्दै लेख्नुभएको छ, ‘यस चुनावमा एनडिए गठबन्धनले पूर्ण एकजुटता प्रदर्शन गर्दै भारी बहुमत हासिल गरेको छ । यस ऐतिहासिक जितका लागि एनडिएका सबै साथी-श्री चिराग पासवान, श्री जितन राम माँझी र श्री उपेन्द्र कुशवाहा-लाई पनि हार्दिक धन्यवाद । तपाईंहरूको सहयोगबाट बिहार अझ अगाडि बढ्नेछ र देशका सबैभन्दा विकसित राज्यहरूको सूचीमा सामेल हुनेछ ।’ (एजेन्सीको सहयोगमा)




















