क्वालालम्पुर (मलेसिया): विदेशी नागरिकहरूले मलेसियामा अधिक समय बसेको तथ्य लुकाउन ‘खाली पासपोर्ट’ (कुनै पनि प्रवेश–निकास स्ट्याम्प नभएको नयाँ पासपोर्ट) प्रयोग गरिरहेको पत्ता लागेको छ। मलेसियाली अध्यागमन विभाग सेलाङ्गोरको टोलीले बिहीबार राति पेटालिङ्जायास्थित दामानसारा पेरदाना, पेलाङ्गी दामानसारालगायत स्थानमा अवैधानिक विदेशी पक्राउ गर्न छापामारी गर्ने क्रममा यस्तो कुरा पत्ता लागेको जनाएको छ।
सेलाङ्गोर अध्यागमन विभागका निर्देशक खैरुल अमिनुस कमरुद्दिनका अनुसार, क्वालालम्पुरस्थित आ-आफ्नो दूतावासबाट जारी गरिएका तीन थान खाली पासपोर्ट मौजुदा कानुनी उल्लंघन लुकाउनकै लागि बनाइएको पाइएको हो।उनका अनुसार केही विदेशीले पुरानो पासपोर्ट हराएको वा म्याद सकिएको भन्दै नयाँ पासपोर्ट त बनाएका छन्, तर
यदि कानुनी रूपमा बसेका भए पुरानो पासपोर्टको ‘एन्डोर्समेन्ट’ नयाँमा सार्नुपर्ने काम पूरा गरेका छैनन्।
यो कार्य अध्यागमन ऐन १९५९/६३ (धारा ६(१)(C) को उल्लङ्घन हो, किनकि तिनीहरूसँग वैध कार्य अनुमति (वर्क पास) अर्थात् भिसा छैन। अमिनुसले बढी समय बसेका विदेशीलाई माइग्रेन्ट रिटर्न प्रोग्राम २.O अन्तर्गत क्वालालम्पुरसँगै शाहआलम, केलेनाजया, पेलाबुहान क्लाङ वा काजाङस्थित अध्यागमन कार्यालयमा उपस्थित भएर बिना कारबाही आफ्नै देश फर्कन आग्रह पनि गरे।
बिहिवार राति १०:०० बजेबाट सुरु गरिएको धरपकड-छापामा म्यान्मार, नेपाल, बंगलादेश, फिलिपिन्स र पपुवा न्यूगिनियाका २०० विदेशी कामदार (घरायसी सहयोगी तथा रेस्टुरेन्ट सहायक) सुरक्षागार्डहरुको जाँच गरिएको थियो। जाँचको क्रममा भिसाको म्याद नाघेका, भिसाबिना प्रवेश गरेका र भिसा/परमिटको शर्त उल्लङ्घन गर्नेहरूलाई सुटुक्कै थुनामा लिएर शाह आलमस्थित सेलाङ्गोर अध्यागमन कार्यालयमा थप अनुसन्धानका लागि लगिएको छ।




















