युक्रेनमाथि प्रभावशाली ४–० को जित निकाल्दै फ्रान्स फिफा विश्वकपमा छनोट।

एजेन्सी := फ्रान्सले युक्रेनमाथि प्रभावशाली ४–० को जित निकाल्दै २०२६ विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको छ। समूह ‘डी’ को छनोट अन्तर्गत भएको खेलमा फ्रान्सले दोस्रो हाफमा जबरजस्त प्रदर्शन गर्दै यात्रालाई सहज बनायो।

पहिलो हाफमा युक्रेनका गोलरक्षकको उत्कृष्ट बचाउका कारण फ्रान्सले धेरै अवसर गुमायो। तर ब्रेकपछि भने खेलको लय पूर्ण रूपमा बदलियो। ५५औँ मिनेटमा किलियन एमबाप्पेले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै स्कोरको सिलसिला सुरु गरे। ७६औँ मिनेटमा माइकल ओलिसेले सुन्दर फिनिसिङमार्फत अग्रता दोब्बर बनाए।

८३औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपे। खेल समाप्त हुन पाँच मिनेट बाँकी हुँदा बेंचबाट प्रवेश गरेका एचिटिकेले चौथो गोल गर्दै फ्रान्सको ठूला अन्तरको जित पक्का गरे। यस विजयसहित फ्रान्सले आरामसाथ विश्वकपको टिकट हात पारेको छ। उता एमबाप्पे व्यक्तिगत कीर्तिमान नजिक पुगेका छन्। ९४ अन्तर्राष्ट्रिय खेलमा ५५ गोल गरिसकेका उनले ओलिभिये जिरुडको ५७ गोलको फ्रान्सकै सर्वोच्च रेकर्डमा पुग्न अब दुई गोल मात्र आवश्यक छ।