काठमाडौं := नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई जनतामा पुनःविश्वास दिलाउन र नयाँ पुस्ताको चाहना पूरा गर्न मंसिर २७ गते विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। दुई सातादेखि सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले भने, ‘महाधिवेशनबाट कांग्रेस नयाँ भएर आउँछ। नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्न सक्ने पार्टी बन्नुपर्छ।’
थापाले पार्टीभित्रको आन्तरिक अनिर्णय र ढिलाइले जनतामा कांग्रेसप्रति भरोसा घटाएको भन्दै भने, ‘अधिवेशन नगरी जनादेश माग्न जानु भनेको आफ्ना गल्ती र कमजोरी नस्वीकारी फेरि समर्थन माग्न जानु हो। यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्।’ उनले बैठकमा कांग्रेसको मूल चरित्र अन्य दलजस्तो उत्तेजना फैलाउने नभएको बताउँदै थपे, ‘हामीले त सम्हाल्ने र स्थिरता दिने’ हो।
नियमित अधिवेशनको अध्याय सकियो
थापाले नियमित अर्थात् १५ औँ अधिवेशन गर्न सकिन्छ भन्ने प्रस्ताव अघि सारे पनि त्यसबेला नेतृत्वले सदस्यता विवादको कारण देखाएर पछि हटेको उल्लेख गरे। ‘तपाईंहरू सबैले सदस्यता विवाद देखाएर पन्छिनुभयो,’ उनले भने, ‘अब नियमित अधिवेशनको अध्याय बन्द भयो, मंसिर २७ गते विशेष अधिवेशन गर्नुपर्छ।’
५४ प्रतिशत प्रतिनिधिको मागका आधारमा विशेष अधिवेशनको प्रस्ताव
महामन्त्री थापाका अनुसार पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् । यही मागलाई वैधानिक रूपमा स्वीकार गरी अब त्यस दिशामा अघि बढ्नुपर्ने उहाँको तर्क छ । ‘सयौं महाधिवेशन प्रतिनिधिलाई छान्ने जिम्मा दिउँ । ५४ प्रतिशत अहिले छ, त्यो ७४ पुग्न सक्छ । घट्न पनि सक्छ, त्यसको परीक्षण गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘दुई दिनभित्र रुजु गर्न सकिन्छ । त्यसपछि नयाँ नेतृत्व मंसिरमा आउँछ । नयाँ पुस्ताको योजना के हो भनेर सभापति बन्नेले प्रस्तुत गर्नेछन्, जसले राम्रो ल्याउँछ, हामी सहयोग गर्छौं ।’
थापाले सभापति शेरबहादुर देउवाले मंसिरभित्रै महाधिवेशन गर्ने वातावरण ‘सजिलो बनाइदिएको’ दाबी पनि गर्नुभयो । ‘सभापतिले सजिलो बनाइदिनुभएको छ । उहाँ आफैंले वक्तव्यमा मंसिरमा महाधिवेशन गर्ने कुरा लेख्न तयार हुनुभएको थियो । तर नेताहरूले त्यसो नलेखौँ भनेपछि परिवर्तन भएको हो’, उहाँले भन्नुभयो, ‘त्यसैले उहाँले वक्तव्य दिएर मात्रै जानुभएको होइन, अधिवेशनमा अब सक्रिय भएर आउँदिनँ भन्ने सन्देशसहित जानुभएको हो । अब सभापति विशेष महाधिवेशनले छान्छ ।’




















