काठमाडौं := भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनपछि नयाँ दल खोल्नेको लहर नै चलेको छ । आउँदो चुनावलक्षित नयाँ दल दर्ताका निम्ति निर्वाचन आयोगले तोकेको म्याद सकिन तीन दिन बाँकी छ । आयोगले यही कात्तिक ३० गतेसम्म दल दर्ताको समय निर्धारण गरेको छ ।
‘जेन-जी’ आन्दोलनपछि आयोगमा पाँच दल दर्ता भइसकेका छन् । बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत सदस्य रहनेगरी दिनेशराज प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता गरिएको छ ।
यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको नेतृत्वमा श्रमशक्ति पार्टी नेपाल दर्ता भएको छ। वरिष्ठ अधिवक्ता सुुरेन्द्र भण्डारीको नेतृत्वमा नेपाल नागरिक पार्टी दर्ता गरिएको छ । जनमत पार्टी विभाजन भएर जनस्वराज पार्टी गठन गर्दै आयोगबाट दर्ताको प्रमाणपत्र लिइएको छ ।
रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाललाई बुधबार (कात्तिक २६) मात्र दर्ताको प्रमाणपत्र दिइएको छ । अरू प्राप्त निवेदन दर्ताको प्रक्रियामा रहेको र कागजात पूरा नगरेकालाई मागिएको आयोगको राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।




















