क्वालालम्पुर (मलेसिया):= “राष्ट्रको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो” भन्ने मूल नाराका साथ यतिबेला मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन” ले अवैधानिक विदेशी र अवैध कामको विरुद्ध देशव्यापी छापामारी सुरु गरेको छ।
छापामारीको क्रममा मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” ले “पाडे अजाक” नामक अवैध आप्रवासी तस्करी समूहलाई क्वालासेलाङ्गोरमा गरिएको दुई विशेष अपरेसनमार्फत नियन्त्रणमा लिएको छ।
छापा मारिएको स्थानहरू किराना पसल पछाडिको ट्रान्जिट घर र एउटा टेरेस आवासमा थिए, जहाँबाट आप्रवासीहरूलाई समुद्री बाटो हुँदै अवैध रूपमा बाहिर पठाइन्थ्यो, अध्यागमनले एक विज्ञप्तिमार्फत जनाएको छ।
अभियानमा १७ जना इन्डोनेसियाली आप्रवासी, २ जना ट्रान्सपोर्टर (नेपाली पुरुष र इन्डोनेसियाली महिला) र ३६ वर्षीय मुख्य आरोपी पक्राउ परेका छन्। साथै पक्राउ परेकाहरूबाट दुईवटा सवारीसाधन र नगद रकमसमेत बरामद गरिएको छ।
अध्यागमनका अनुसार गिरोहले २०२३ देखि सक्रिय रूपमा सामाजिक सञ्जालमार्फत प्रतिव्यक्ति कम्तीमा पनि आरएम १,५०० देखि आरएम २,१०० लिँदै आप्रवासनको अवैध सेवा प्रदान गर्दै आएको र ५००,००० रिङ्गिटभन्दा बढी नाफा आर्जन गरेको पाइएको छ।
जे.आई.एम.ले यस प्रकरणमा संलग्न स्थानीय घरधनी र अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ। यो मुद्दा मानव तस्करी तथा आप्रवासी तस्करी ऐन २००७ (ए.टी.आई.पी.एस.ओ.एम. २००७) अन्तर्गत अनुसन्धान भइरहेको छ। अध्यागमनले जनतालाई अवैध गतिविधि सम्बन्धी सूचना आधिकारिक माध्यमबाट दिन आग्रह गरेको छ। Bernama





















