रास्वपा पार्टीको सदस्यता संख्या २ लाख ४१ हजार पुगेको दाबी।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”ले पार्टीको सदस्य संख्या २ लाख ४१ हजार ७९९ पुगेको दाबी गरेको छ । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठानिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ ।

यद्यपि, तीमध्ये अहिलेसम्म एक लाख ७३ हजार ५९ सदस्यको मात्रै प्रमाणीकरण भएको उल्लेख गरिएको छ । तीमध्ये थारू समुदायको सदस्यता १.५ प्रतिशत, मुस्लिम समुदायको १.१ प्रतिशत, आदिवासी जनजातिको १९.३ प्रतिशत र दलित समुदायको सहभागिता ७.३ प्रतिशत रहेको छ ।

रास्वपामा महिला सदस्य संख्या १४ प्रतिशत रहेको जनाइएको छ । रास्वपाले पार्टीको सांगठनिक अवस्था कर्णाली र मधेस प्रदेशमा अझै पनि कमजोर रहेको आन्तरिक मूल्यांकन गरेको छ । बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा कर्णाली र मधेस प्रदेशलाई पार्टीका कमजोर क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।

केन्द्र जिल्ला र पालिका तहमा गठन हुने र्‍यापिड एक्सन टिमको अवस्था पनि यी प्रदेशमा कमजोर रहेको उल्लेख गरिएको छ । यसको अधिवेशन मधेसमा चार प्रतिशत मात्रै भएको र कर्णालीमा शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ ।