२१ फागुनमा तोकिएको निर्वाचनमा रास्वपाले अन्य दलसंग पनि गठबन्धन गर्न सक्ने।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ फागुनमा तोकिएको निर्वाचनमा अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी कार्यगत एकता गर्न सकिने विकल्प खुला राख्ने भएको छ । चितवनमा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सकिने उल्लेख छ ।

प्रतिवेदनमा कस्ता दल र राजनीतिक शक्तिसँग कार्यगत एकता गर्न सकिन्छ ? भन्नेबारे खुलाइएको छैन । तर, नयाँ बन्ने दलहरूसँग यस्तो कार्यगत एकताका लागि यो विकल्प खुला गरिएको नेताहरूको भनाइ छ । रास्वपाले आगामी निर्वाचनको नारा ‘सुधारः सोचदेखि शासनसम्म’ तय गरेको छ। यो नाराले नागरिकको सोचाइ परिवर्तनदेखि शासन-सत्ताको सुधारसम्मलाई एकीकृत गर्ने रास्वपाले बताएको छ ।

‘हामीलाई समग्र राजनीतिक, सामाजिक र प्रशासनिक प्रणालीमा सतही सुधार वा टुक्रे परिवर्तन होइन आमूल परिवर्तन चाहिएको छ । र, यो परिवर्तनको आधार हो- नेपाली समाजको सोच, दृष्टिकोण र व्यवहारमै रूपान्तरण । हामी जनताको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली, राजनीतिक नेतृत्वको दृष्टिकोण र समग्र शासन प्रणालीमै व्यापक सुधार चाहन्छौँ’, अर्यालको प्रतिवेदनमा भनिएको छ ।

पुराना राजनीतिक दलहरूको गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको रास्वपाले आगामी निर्वाचनमा भने आफैँ पनि गठबन्धन गर्ने निष्कर्षमा पुगेको हो। यस्तो गठबन्धन रास्वपाको मौलिक पहिचान गुम्नेगरी चाहिँ बनाउन नहुने प्रतिवेदनमा उल्लेख छ ।

‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छाया पर्न दिइने छैन ।’

यसैगरी, अर्यालले निर्वाचनलगत्तै पार्टीको पहिलो महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले भन्नुभएको छ, ‘फागुनमा चुनाव भएलगत्तै महाधिवेशन गर्ने योजनामा यस विस्तारित बैठकले केन्द्रीय समितिलाई मूर्त र व्यावहारिक सुझाव दिने मेरो अपेक्षा छ ।’

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘महाधिवेशनको निर्देशनले नै हामीलाई राष्ट्रिय राजनीतिमा अझ परिपक्व र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्न मद्धत गर्छ । परिष्कृत नीति विचार र निर्वाचित नेतृत्वको आगमनले पार्टीलाई गतिशील बनाउँछ । समयको मागअनुसार आफूलाई परिमार्जन गर्न सक्षम बनाउँछ । त्यसैले चुनावलगत्तै महाधिवेशन गरी पार्टीलाई थप व्यवस्थित र सुदृढ प्रभावकारी बनाउन आवश्यक छ ।’

पार्टीले २०८१ असोज १ र २ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट २०८२ वैशाख २५ र २७ मा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि अर्को केन्द्रीय समितिले फागुन ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। फागुनको दोस्रो साता २१ गते निर्वाचनको मिति घोषणा भएपछि रास्वपाको पहिलो साता महाधिवेशन गर्ने समय फेरिएको हो ।