काठमाडौं:= खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान विषयक समन्वयात्मक बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ) को संयुक्त सहकार्यमा सञ्चालन भइरहेको ‘माइगेन्ट राइट्स एण्ड डिसेन्ट वर्क-मिरिड्यू फेज २, एनआरएनए-आइएलओ- प्रोजेक्ट इनिटियटिभ’ अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो ।
बैठकले आगामी दिनमा वैदेशिक रोजगारीसम्बन्धी नीतिगत सुधार, श्रमिक अभिवृद्धि र हकहित संरक्षणका लागि संयुक्त कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ ।एनआरएनएको बालुवाटारस्थित सचिवालयमा आयोजित बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, सरकारी तथा गैरसरकारी संस्था, वैदेशिक रोजगारसँग सम्बन्धित निकाय, श्रमिक संगठनहरू, विज्ञ, नीति अनुसन्धानकर्तालगायत ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले खाडी मुलुक र मलेसियामा रहेका नेपाली श्रमिकहरूले भोगिरहेका प्रमुख समस्या जस्तै, कूटनीतिक सम्बन्ध, द्विपक्षीय श्रम सम्झौता उल्लंघन, तलब र सुविधा नपाउने समस्या, स्वास्थ्य र सुरक्षासम्बन्धी चुनौती, सामाजिक सुरक्षा कोषमा आबद्धता, श्रमिक संरक्षण संयन्त्र र विद्यमान कमजोरीलगायत विषयमा धारणा राखेका थिए ।
बैठकमा श्रमिक अधिकार सुनिश्चित गर्न र वैदेशिक रोजगारीमा जाने नेपालीलाई सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीको वातावरण सिर्जना गर्न सरकारी निकाय, एनआरएनए र अन्य सरोकारवालाबीच सहकार्य र समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो ।
बैठकले आगामी दिनमा वैदेशिक रोजगारीसम्बन्धी नीतिगत सुधार, श्रमिक अभिवृद्धि र हकहित संरक्षणका लागि संयुक्त कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, सल्लाहकार अतुल कोइरालालगायतले पनि विद्यमान अवस्था र तिनको न्यूनीकरणलगायतमा आफ्नो धारणा राखेका थिए ।
एनआरएनए सचिवालयका अनुसार एक फरक प्रसंगमा अध्यक्ष केसीले विदेशमा रहेका वैदेशिक रोजगार वा स्वरोजगारमा रहेका नेपाली तथा गैरआवासीय नेपालीले पाउनुपर्ने भनी संविधानमा किटान गरिएका विषय, सेवा सुविधा प्रदान गर्न सरकारले ढिलाइ गर्न नहुने र त्यसमा सरोकारवालाले पनि सरकारलाई झकझक्याइदिनुपर्ने बताउनुभएको थियो ।




















