कांग्रेसमा महामन्त्रीद्ध्य लगायत बहुमत पदाधिकारी चुनाव अगाडिनै महाधिवेशन गराउने पक्षमा।

काठमाडौं := नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद झन् गहिरिँदै गएको छ । जारी केन्द्रीय समिति बैठकमा संस्थापन र इतर समूहले अलग-अलग महाधिवेशनको कार्यतालिका पेस गरेका छन् । दुवै कार्यतालिकामाथि केन्द्रीय समिति बैठकमा छलफल जारी छ।

कांग्रेसमा बहुमत पदाधिकारी भने आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।  कांग्रेसका एक सभापति, दुई उपसभापति र दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १४ पदाधिकारी छन् ।

तर, ‘जेन-जी’ आन्दोलनपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर जानुभएको छ । अहिले १३ पदाधिकारी मात्रै केन्द्रीय समितिको बैठकमा छलफलमा सहभागी छन् ।

१३ पदाधिकारीमध्ये आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै १५औँ महाधिवेशन गर्नुपर्ने पक्षमा एक उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री गरी सातजना पदाधिकारी उभिएका छन् । जसमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर र भीष्मराज आङदेम्बे फागुन २१ गतेको निर्वाचनअघि नै १५औँ महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

महामन्त्री गगन थापाले मंगलबार आगामी पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्नुभएको थियो । अर्कोतिर कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी र कोषाध्यक्ष उमेश श्रेष्ठ गरी ६ जना पदाधिकारी चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

मंगलबार सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ लेखि ३० गतेसम्म गर्नेगरी १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नुभएको थियो ।  तर, यादवको प्रस्तावलाई आधिकारिक मानिएको छैन ।वर्तमान पदाधिकारीमा संस्थापन अल्पमतमा परे पनि पूर्वपदाधिकारी भने चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

पूर्व–उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्व-उपसभापति विजयकुमार गच्छदारसहितका नेताहरूले कुनै पनि हालतमा निर्वाचन अघिको महाधिवेशन स्वीकार नगर्ने अडान राखेका छन् ।

महामन्त्री थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान प्रस्ताव : 

कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पूरै देशले गगन थापालाई खोजेको भन्दै आगामी निर्वाचनमा उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान प्रस्ताव गर्नुभएको छ । बुधबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै मन्सुरले देशैभरबाट थापाको खोजी भएको तर्क गर्दै पार्टीले चुनाव जित्न पनि थापालाई प्रधानमन्त्रीको घोषणा गरेर जानुपर्ने बताउनुभएको हो ।

देशैभरका जनताबाट महामन्त्री थापालाई भावी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको जिकिर गर्दै मन्सुरले भन्नुभयो, ‘उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनुभएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पनि उहाँकै कारण जुटेको हो ।

यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाऊँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौँ ।’ पार्टीका दुईटा महाधिवेशनको कार्यतालिका आएको भन्दै उहाँले यतिखेर ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशन उपयुक्त हुने धारणासमेत राख्नुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा वर्तमान संस्थापन (सभापति शेरबहादुर देउवा) समूहबाट सहमहामन्त्री जित्नुभएका मन्सुर महामन्त्री गगन थापाको पक्षमा देखिनुभएको हो । महाधिवेशन कहिले गर्ने ? भन्नेमा संस्थापन र इतर समूहबीच विवाद भइरहेका बेलामा मन्सुरले थापाको पक्ष लिनुभएको हो । स्रोत : अनिल क्षेत्री / हिमालय टाईम्स पत्रीका