कांग्रेसमा आवद्ध क्रियाशील सदस्यहरुको संख्या ह्वात्तै घटयो, जम्मा ३ लाखले गरे नविकरण।

काठमाडौं := नेपाली कांग्रेस पार्टीमा आवद्ध क्रियाशील  सदस्यहरुको संख्या ह्वात्तै घटेको छ । यसके कांग्रेसप्रति नेपाली जनताको विश्वास घट्दै गैइरहेको स्पष्ट देखाउँछ।
कांग्रेसका झण्डै ९ लाख क्रियाशील सदस्यमध्ये अहिले आएर जम्मा ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन् ।

केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट तीन लाख नौ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको छ । जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत प्राप्त विवरणअनुसार १९ जिल्लाका एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ को सदस्यता नवीकरण भएको छ ।

इमेलमार्फत विवरण पठाएका जिल्लामा ४५ हजारले नवीकरणमा रुचि देखाएका छैनन् । महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘१९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएको छ ।’

२७ जिल्लामा (केही वडाबाहेक) तहगत नवीकरण भएर एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । महामन्त्री थापाले पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुरमा आन्दोलन र आगजनीका कारण सदस्यता नवीकरणको काममा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

महामन्त्री थापाको प्रतिवेदनअनुसार सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता नवीकरण हुन सकेको छैन । यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा पनि नवीकरणमा समस्या देखिएको छ । देशभरका ६ हजार ७४३ वडामध्ये २६८ वडामा विभिन्न कारणले नवीकरण बाँकी रहेको महामन्त्री थापाको भनाइ छ ।

उनले बाँकी रहेका वडामध्ये २२७ वडाहरू नवीकरणको प्रक्रियामा रहेका पनि केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनुभएको छ । महाधिवेशन समयमा हुँदैन भन्ने भाष्यका कारण नवीकरण विवरण बुझाउन ढिलाइ भए पनि महाधिवेशनको कार्यतालिका टुंगिएको एक सातामै नवीकरणको काम सम्पन्न हुने महामन्त्री थापाको दाबी छ ।