काठमाडौं := यस वर्षको बडादशैँ र तिहारमा प्रदर्शनमा आएका सात नेपाली चलचित्रमध्ये ‘जेरी अन टप’ले सबैभन्दा धेरै आम्दानी गर्दै घरेलु बक्स अफिसमा अग्रस्थान कायम गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक १५ गतेसम्मको तथ्यांक अनुसार, ‘जेरी अन टप’ले तीन लाख ३३ हजार ६०५ वटा टिकट बिक्री गरी १० करोड ५१ लाख ४८ हजार रुपैयाँ कमाएको छ ।
दोस्रो धेरै आम्दानी गर्ने फिल्म ‘बलिदान’ रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । यसले एक लाख ७१ हजार ६३ टिकट बिक्री गर्दै पाँच करोड १० लाख ३४ हजार रुपैयाँको व्यापार गरेको छ । तेस्रो स्थानमा बडा दशैंमा नै प्रदर्शनमा आएको ‘हरिबहादुरको जुत्ता’ परेको छ । यसले एक लाख ४९ हजार २६७ टिकट बिक्री गरी चार करोड ७१ लाख ३७ हजार रुपैयाँ कमाएको छ ।
त्यस्तै, ‘माइतीघर’ले एक लाख ४३ हजार ७१२ टिकट बिक्री गर्दै चार करोड १५ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ। भाइटीकाको दिन रिलिज भएको ‘वरिष्ठ बलराम’ले दुई करोड ४८ लाख ३० हजार रुपैयाँ कमाउँदै पाँचौं स्थानमा रहेको छ ।भाइटीकाको भोलिपल्ट प्रदर्शनमा आएको चलचित्र ‘मैझारो’ले करिब एक करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ भने सबैभन्दा कम कमाइ गर्ने चलचित्र ‘सोल्टिनी’ बनेको छ, जसले हालसम्म जम्मा २८ लाख ८० हजार रुपैयाँ मात्र कमाएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार, यसपालिको दशैँ-तिहारमा प्रदर्शनमा आएका सात चलचित्रले जम्मा २९ करोड रुपैयाँ जति कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा नेपाली फिल्महरूले करिब ९० करोड रुपैयाँको व्यापार गरेका थिए । व्यापारगत दृष्टिले अघिल्ला वर्षको तुलनामा आम्दानी घटे पनि, जेन–जी आन्दोलनपछिको अस्थिर राजनीतिक वातावरण र बाढी–पहिरूोका कारण सिर्जित प्रतिकूल परिस्थितिका बीच यो आम्दानीलाई उत्साहजनक मानिएको छ ।



















