काठमाडौं := लामो समयदेखि मलेसियामै रहि आफ्नो घरपरिवारसंग सम्पर्कविहीन बेपत्ता अवस्थामा रहेका लमजुङ निवासी तेजबहादुर माझकोटी अन्ततः मलेसियामै भेटिएका छ्न। नेपाली राजदूतावास मलेसिया र प्रवासी नेपाली समन्वय समिति “पिएनसीसी” मलेसियाको निरन्तर प्रयास र समन्वयबाट उनको खोजीकार्य सफल भएको हो ।
बेसिशहर नगरपालिका–३ (पूर्व गा.वि.स. वडा नं. ४), लमजुङका माझकोटी हराएको जानकारीपछि उनकी श्रीमती सुकुमाया माझकोटीले दूतावासमा निवेदन दिएकी थिइन्। निवेदन प्राप्तभएपछि दूतावास र पिएनसीसी मलेसियाले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।
पिएनसीसी मलेसियाको संयोजक पुर्ण सुब्बा लिम्बुले बताए अनुसार माझकोटीको तीव्र खोजी र स्थानीय सहयोगीहरूको प्रयासपछि यहीँ मिति सन् २०२५ नोभेम्बर २ तारिख आइतबार राति करिब ०९:०० बजे जालान आलोर, बुकित बिन्ताङ (क्वालालम्पुर) क्षेत्रबाट ब्यावसायी लोचन बिमलीको सहयोगमा भेट्टाइएको हो।
राजदूतावासको निर्देशनअनुसार सोही रात पिएनसीसी मलेसियाले “द खुकुरी रेस्टुरेन्ट”का सञ्चालक जी.बी. तामाङको सहयोगमा माझकोटीको सुरक्षित उद्धारगरि क्रिष्टिना होम केयर सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ।
हाल उनको स्वास्थ्य अवस्थाको उपचार र हेरचाह कार्य नेपाल दूतावास मलेसिया र पिएनसीसीको प्रत्यक्ष निगरानीमा भइरहेको छ। स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि चाडैं उनलाई नेपाल फर्काउने तयारी भइरहेको पिएनसीसी मलेसियाका संयोजक लिम्बुले बताए । राजदूतावासले पछिल्लोसमय श्रमिक उद्दारको कार्यमा निकै सक्रियता पुर्वक लागेका छ्न ।





















