राष्ट्रपति पौडेल कतारमा, ‘सामाजिक विकासका विषयमा दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने।

काठमाडौं:= राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतारको औपचारिक भम्रणमा जानुभएको छ । कतारको राजधानी दोहामा आयोजना हुने ‘सामाजिक विकासका विषयमा दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा पुग्नुभएको हो । उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार जानुभएको हो ।

राष्ट्रपति पौडेललाई कतार प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गर्नुभएको थियो । सो अवसरमा सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित विदेशी कूटनीतिक प्रतिनिधिहरूको पनि उपस्थिति थियो । नेपाली सेनाले राष्ट्रपति पौडेललाई सम्मान गारत अर्पण गरेका थिए । राष्ट्रपति पौडेल सोमबार नै कतार पुग्नुभएको छ ।

राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारी विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेललगायत दूतावासका उच्चपदस्थ पदाधिकारी, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरेका थिए । पौडेल उनै हुन्, जसलाई सुशीला कार्की नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर, एकदिन अघि मात्रै सर्वोच्च अदालतले उहाँसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ताहरू प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले दायर गरेको रिटमा न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । उक्त आदेशसँगै राजदूत पौडेलले राष्ट्रपति पौडेललाई दोहामा स्वागतको अवसर पाउनुभएको हो ।

कात्तिक १८ देखि २० गतेसम्म हुने उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयलका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्यसत्रमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । सो क्रममा उहाँले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

संयुक्त राष्ट्रसंघको निर्णयअनुसार ३० वर्षपछि दोहामा हुन लागेको यो दोस्रो सम्मेलन हो । यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो । यस दोस्रोपटकको सम्मेलनमा विश्वभर बढ्दो विकास असमानता, जनसंख्याको सन्तुलन र प्रविधिको प्रभावले समाजमा ल्याएका परिवर्तनबारे गहन छलफल हुने जानकारी दिइएको छ ।

सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र साझा प्रतिबद्धता व्यक्त गर्ने उद्देश्य राखेको छ। राष्ट्रपतिको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्नुभएको छ । राष्ट्रपति पौडेलको भ्रमण अवधिभर देशका राष्ट्रपतिसम्बन्धी सबै कार्य उपराष्ट्रपतिले सम्पादन गर्नुहुने छ ।

स्रोत : दिपिका न्यौपाने / हिमालय टाइम्स पत्रीका