क्वालालम्पुर (मलेसिया):= मलेसियामै बेपत्ता , सम्पर्कविहिन रहेका नेपाल ठेगाना जिल्ला मकवानपुर, मनहरी गाउँपालिका–६, रुपाचुरी निवासी ४० वर्षिय अजय मोक्तान अन्ततः भेटिएर नेपाली राजदूतावास मलेसियाको सहयोग समन्वयमा स्वदेश फर्किएका छ्न ।
मोक्तान यहीँ नोभेम्बर १ तारिख शनिबारको दिन बातिक एयरको उडानमार्फत स्वदेश फर्किएका हुन । गत अक्टोबर महिना २३ तारिखदेखि यतै मलेसियामै हराइरहेका थिए । उनको मानसिक अवस्था बेला-बेला बिग्रने समस्या रहेको पारिवारिक स्रोतले जनाएको थियो।
परिवारले मोक्तानको खोजी गरिदिनुपर्यो भनि नेपाली राजदूतावासमा निवेदन दिएका थिए। उक्त निवेदनकै आधारमा नेपाली राजदूतावास , प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि” र मलाया खबर मिडियालगायतले खोजीकार्य सुरु गरेका थिए । अच्चानक गत अक्टोबर २८ तारिख मानसिक संतुलन ठिक भएको बेला बेपत्ता मोक्तान आफैं दूतावास आईपुगेर सहयोगको याचना गरेका थिए ।
दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले सक्रियता पुर्वक मोक्तानलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरे । मोक्तानको भिसा अवधी अझै बाँकी नै रहेकोले स्वदेश फर्काउन दूतावासले रोजगारदाता कम्पनीलाई व्यापक ताकेता गरेपश्चात् कम्पनीले पासपोर्ट र टिकटको बन्दोबस्त गरिदिएर मोक्तानलाई स्वदेश फर्काउन दूतावासनै सफल भएको पिएनसिसि मलेसियाका संयोजक पुर्ण सुब्बा लिम्बुले जानकारी दिनुभयो ।




















