नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज (सोमबार) लक्ष्मीपूजा ।

काठमाडौं := नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज (सोमबार) लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गर्ने गरिन्छ । यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ ।

आजको दिनमा राति लक्ष्मी भगवान् पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रंगीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छापअनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास रही आएको छ । घरआँगन सबैतिर आज साँझ दीप बाल्ने चलन छ ।

यस्तै, आज कुकुर तिहार पनि परेको छ । यसैदिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । आजको दिनलाई सुखरात्रि पनि भनिन्छ, लक्ष्मी पूजालाई सुखरात्रिले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मीमाताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरूको पदचापहरू, सुखरात्रि वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्षको दिनमध्ये एक हो ।

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मी पूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा काठमाडौंको डिल्ली बजारमा जन्म भएको थियो । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उहाँको सम्झना गरिँदै छ ।

नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जिनी, शकुन्तला लगायतका कृति छन् । वि.सं २०१६ सालमा उहाँ यो संसारबाट बिदा हुनुभएको थियो । सानै उमेरदेखि कविता लेख्न थाल्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा उहाँ स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक पनि हुनुहुन्छ । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल सांकृृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो ।

नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो । २०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलिपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४६ यसै दिनदेखि सुरु हुन्छ । कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको जनाइएको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने पनि समितिले जनाएको छ ।

भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने छ । सर्वसाधारणका लागि मध्याहृनकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने र राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।