म देश र जनताप्रति बफादार छु, एक पैसा पनि भ्रष्टाचार गरेको छैन: केपी ओली।

काठमाडौं := नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफादार रहेको बताउनुभएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाईको विषय भएको पनि बताउनु भयो। उहाँले भन्नुभयो,‘देश अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’

अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताउनु भयो । साथै आफुले भ्रष्टाचार गरेको भन्ने लागेमा छानविन गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानविन गरे हुने उहाँको भनाई छ । उहाँले जलेको घरको खरानी बाहेक केही नभएको बताउनु भयो । सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उहाँले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको बताउनु भयो । उहाँले खातामा २०/२५ लाख रुपैयाँ हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईहरु पनि एउटा टोली बनाएर छानविन गर्नुस् न, हो । अरुको सक्नुहुन्न भने केपी ओली एउटाको छानविन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासंघले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ । एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईहरुले हिसाव गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म संग । त्यही गन्ने होला ? खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।’

उहाँले विश्वभरका बैकहरुसँग सोधेर आफ्नो सम्पत्ती छानविन गर्न पनि चुनौती दिनुभयो । उहाँले सबैको सम्पती छानविन गर्न पनि आग्रह गर्नुभयो ।