आइसिसी टी-२० विश्वकप २०२६ मा छनोट हुने २०औं टोलीको टुंगो लाग्यो।

ओमान:= युएई आइसिसी टी-२० विश्वकप २०२६ मा छनोट हुने २०औं टोली बनेको छ । पूर्वी एसिया प्रशान्त छनोटमा बिहीबार जापानलाई आठ विकेटले पराजित गर्दै युएईले विश्वकपको टिकट काटेको हो । ओमानको अल इमिरेट्स स्टेडियममा पहिले ब्याटिङ गर्दै जापानले नौ विकेट गुमाएर ११६ रनमात्र बनाउन सक्यो । युएईले १२.१ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो ।

युएई पूर्वी एसिया प्रशान्त छनोटबाट तेस्रो र अन्तिम टोली थियो । यसअघि बुधबार, नेपाल र ओमानले अंक तालिकामा शीर्ष दुई स्थान हासिल गरेपछि विश्वकपमा स्थान सुरक्षित गरेका थिए । यस महिनाको सुरुमा जिम्बाब्वे र नामिबियाले पनि अफ्रिका क्षेत्रबाट छनोट भएका थिए ।

टी-२० विश्वकप २० टोलीहरूबीच खेलिनेछ । आयोजक अधिकारका कारण भारत र श्रीलंकाले सिधै प्रवेश पाएका छन् । अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका र वेष्ट इण्डिज अघिल्लो विश्वकपमा सुपर आठमा पुगेर छनोट भएका थिए । आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान वरीयताको आधारमा छनोट भएका थिए ।

क्यानडा अमेरिका छनोटबाट छनोट भएको थियो । इटाली र नेदरल्याण्ड्स युरोप छनोटबाट प्रवेश गरेका थिए । पछिल्लोपटक सहभागी स्कटल्याण्ड छनोट हुन असफल भएको थियो । नामिबिया र जिम्बाब्वे अफ्रिका छनोटबाट छनोट भएका थिए । बाँकी तीन टोली एसिया र पूर्वी एसिया प्रशान्त छनोटबाट प्रवेश गरेका थिए ।

२०१० देखि, यो प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ । २०२४ मा, भारतले फाइनलमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो । टिम इण्डियाबाहेक, वेष्ट इण्डिज र इंग्ल्याण्डले पनि दुई–दुई उपाधि जितेका छन् । पाकिस्तान, श्रीलंका र अष्ट्रेलियाले एक-एक पटक प्रतियोगिता जितेका छन् । शीर्ष टोलीहरूमध्ये, न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले अझै उपाधि जितेका छैनन् ।