काठमाडौं := टंक बुढाथोकीले आफ्नो निर्देशन तथा निर्माणमा तयार भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘मनबिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको पोस्टरमा प्रमुख कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झालाई प्रस्तुत गरिएको छ ।
यसअघि सार्वजनिक पोस्टरमा भने गायक तथा अभिनेता अशोक दर्जीलाई मात्र देखाइएको थियो। सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र ‘मनबिनाको धन’ मा कथा निर्देशक बुढाथोकी स्वयंले लेख्नुभएको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पार्नुभएको हो ।
यही कात्तिक २१ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रका निर्माता विष्णु माया मैनाली हुनुहुन्छ । कार्यकारी निर्माताको भूमिकामा सपना शर्मा रहनुभएको छ भने जिपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सह-निर्माताका रूपमा हुनुहुन्छ ।
चलचित्रमा चर्चित बालगायक अशोक दर्जीको अभिनय मुख्य आकर्षण हुने विश्वास गरिएको छ । दर्जीले यही चलचित्रको नाम समेटिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाट सांगीतिक यात्रा सुरु गर्नुभएको थियो । उक्त गीतले दर्जीलाई राष्ट्रियस्तरमा चिनाएको थियो । हाल उहाँ काठमाडौंमा कक्षा नौमा अध्ययनरत हुनुहुन्छ ।
चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, विना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रको छायांकन सौरभ लामाले गर्नुभएको हो भने सम्पादन मित्र डी. गुरुङको रहेको छ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले सम्हाल्नुभएको छ । चलचित्रको मुख्य सहायक निर्देशन नवराज शर्माले गर्नुभएको छ । ‘मनबिनाको धन’ लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन् ।


















