केन्द्रीय कमिटी बैठक बस्न कोठा खोज्दै नेकपा एमाले, अध्यक्ष नछाड्ने पक्षमा केपी ओली।

काठमाडौं := नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म बस्नेगरी बोलाइएको छ । तीन दिन बस्नेगरी बोलाइएको केन्द्रीय कमिटी बैठक बस्ने स्थानको भने टुंगो नलागेको सो पार्टीले जनाएको छ । भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालय पनि आगजनी भएसँगै उक्त स्थानमा बैठक बस्न नसक्ने अवस्था रहेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भइरहेको च्यासलको भवन आगलागीबाट क्षतविक्षत भएकाले बैठक बस्ने स्थान अभाव भएको जानकारी दिए। उनका अनुसार दसैँ बिदा सकिएलगत्तै बैठक बस्ने स्थानको खोजी गरिने छ । ‘बैठक बस्ने स्थानको टुंगो लागिसकेको छैन’,अधिकारीले भने,‘दसैँ सकिएपछि कुनै पार्टी प्यालेस खोज्नुपर्ला भन्ने छ ।’

एमालेले केन्द्रीय कमिटी बैठक अघि असोज १९ र २० गते तोकेको केन्द्रीय सचिवालय बैठक असोज २४ गतेलाई सारेको छ । २४ गते बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने नेताहरूले बताएका छन्। नेकपा एमालेमा झन्डै ३ सय ५५ जना केन्द्रीय सदस्य रहेका छन् ।