झापा := नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निरन्तरको वर्षासँगै निम्तिएको विपदमा सबै कुरा बिर्सेर उद्दारमा जुट्न पार्टी पंक्तिलाई आग्रह गर्नु भएको छ । उहाँले नेपाली कांग्रेस र अन्य पार्टी सम्बन्ध स्वयमसेवीलाई सक्रियता बढाउन भन्नुभएको हो।
पाँचथरमा आज ६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको उद्दारमा खटिएका तस्वीरसहित पोष्ट गर्दै शमाले सामाजिक सञ्जाल मार्फत आव्हान गर्दै लेख्नु भएको छ, “सबै आग्रहभन्दा माथि छ, मानवीय कर्म ! आफ्नो पार्टी र अन्य पार्टी निकट स्वयंसेवीलाई युद्धस्तरको भावनाले `बर्दी´ सँगसँगै जुट्न अपील गर्दछु । ”
उहाँले विपदको बेला ठाउँ, आस्था बिर्सेर उद्दारमा जुट्न भन्नुभएको छ । ” हामी जो हौं, जहाँका हौँ, जुनकुनै आस्थाका हौँ, विपद सबै माथि एकसाथ आएको छ l ऐक्यबद्ध रहेर सामना गरौं ” महामन्त्री शर्माले लेख्नुभएको छ,” भारी वर्षाको चपेटामा आफू सुरक्षित रहँदै सरकारी प्रयासलाई सघाऔं ।”
उहाँले पाँचथरमा आज भएको दुर्घटना लगत्तै बर्दीमा रहेको सेना र बर्दीमा नरहेका सैन्य उर्जाका नागरिक सँगसँगै युद्धस्तरमा जुटेकोमा प्रसन्नता व्यक्त गर्दै अहिलेको विपदको बेला अन्यत्र पनि यसरी नै जुट्न अपील गर्नु भएको हो ।
पाँचथरको कुम्मायक गाउँपालिका – ३ रानीगाउँमा भएको जीप दुर्घटनामा तीन महिलासहित छ जनाको मृत्यु भएको छ । छ जना घाइते मध्ये पाँच जनालाई उपचारका लागि धरान लगिएको छ । एकजनाको जिल्ला अस्पताल पाँचथर उपचार भइरहेको छ। देशको अधिकांश स्थानमा विपद निम्तिएको बेला महामन्त्री शर्माले कांग्रेस र अन्य पार्टी आबद्धलाई सुरक्षाकर्मीसँगसँगै खट्न र सरकारलाई सघाउ भन्नुभएको हो । – राजेन्द्र गौतम / हिमालय टाईम्स