क्लाङ (मलेसिया):= यहीँ सेप्टेम्बर २४, बुधबार राति अध्यागमन विभाग सेलाङ्गर “इमिग्रेसन” नेतृत्वमा क्लाङस्थित तमान पेरिन्डुस्ट्रियन पुलाउ इन्दाहमा अवस्थित आप्रवासी आवासीय क्षेत्रमा गरिएको संयुक्त छापामारी कारवाहीमा ६६२ जना विदेशीलाई पक्राउ गरिएको छ।
सेलाङ्गोर इमिग्रेसन निर्देशक खैर्रुल अमिनुस कमारुद्दिनका अनुसार उक्त छ्पामारी राति ९:३० बजे सुरु गरिएको थियो , जसमा १,१३२ जना विदेशीको पासपोर्ट र भिसा जाँच गरिएको थियो। जसमध्ये सयौंको संख्यामा ६६२ जना अवैधानिक विदेशी हरुलाई पक्राउ गरि जेल चलान गरिएको हो ।


पक्राउ परेकामध्ये सबैभन्दा ठूलो समूह बंगलादेशका ५४५ नागरिक रहेका छन्। त्यस्तै, म्यान्मारका ३६, पाकिस्तानका ३५, नेपालका २४, भारतका १० र इन्डोनेसियाका ९ नागरिक पक्राउ परेको मलेसियन अध्यागमन बिभागले जनाएको छ ।
उनीहरूलाई १९५९/६३ को इमिग्रेसन ऐन अन्तर्गत विभिन्न उल्लङ्घन, जस्तै भिसा अवधि नाघेर बढी समयसम्म बसाइँ , अनुमति पत्र भिसा नहुने वा अनुमति भिसा शर्त उल्लङ्घन गर्ने अभियोगमा नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको उमेर १६ देखि ८० वर्षसम्म रहेको जनाइएको छ। सबैलाई थप कारबाहीका लागि सेलाङ्गोर इमिग्रेसन मुख्यालयमा लगिएको थियो , त्यसपछि सेमेनीय इमिग्रेसन डिपोमा पठाइने जनाएको छ ।
खैर्रुल अमिनुसका अनुसार अवैधानिक रुपमा बसेका विदेशीहरु विरुद्ध यस्ता अपरेसन निरन्तर गरिनेछन्, जसको उद्देश्य इमिग्रेसन नियम उल्लङ्घन गर्ने तथा मानव बेचबिखन र आप्रवासी तस्करी विरुद्धको कानुन (ATIPSOM ऐन २००७) उल्लङ्घन गर्ने विदेशीहरूलाई पहिचान गरी जेल चलान र डिपोर्ट गर्नु हो।
यस अपरेसनमा क्वालालम्पुर, पेराक, नेगेरी सेम्बिलान र सेलाङ्गोरका इमिग्रेसन इकाइसँगै, सेलाङ्गोर प्रहरी, बुकित अमान एयर अपरेसन फोर्स तथा जनरल अपरेसन फोर्सले सहकार्य गरेका थिए। – बेरनामा




















