रास्वपाले तिर्न सकेन घरभाडा, तीन महिनाभित्र ‘घण्टीघर’ खाली गर्न निर्देशन।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षा थ्रेडको कारणले घर छोड्न दुई साताअघि रास्वपाका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याललाई भेटेर तीन महिनाभित्र घर खालि गर्न आग्रह गरेको देवकोटाले स्वीकार गरेका छन् । अहिले अमेरिकामा रहेका उनले घर भाडाको विषय आफ्नो आन्तरिक कुरा भएको बताए ।

देवकोटाले पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन। सापट दिएको ठूलै रकम छ । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक ३ लाख ५० हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो ।

पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटाले भने, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन ।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।