काठमाडौं := अन्तरिम नेपाल सरकारको प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताउनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवं गैरनेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उहाँले सम्बोधनको क्रममा बताउनुभयो ।
‘प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्न चाहन्छु,’ उहाँले भन्नुभएको छ ।