काठमाडौं := अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताउनुभएको छ । बिहीबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले यसअघि भए/गरेका भ्रष्टाचारको विषयमा प्रष्ट जानकारी पाइसकेको बताउनभुएको हो ।
‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सम्बन्धमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ,’ उहाँले भन्नुभयो, ‘तसर्थ त्यसको आवश्यक छानविन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ ।’ कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झन्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसद्बाट गर्न आग्रह गर्दै जेन-जी समूहको आन्दोलनको मर्म र भावनाबमोजिम सरकार सञ्चालन गरिरहेको सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
उहाँले चालु आर्थिक वर्ष अन्तर्गतका स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका नाममा विनियोजित बजेट खारेज गरिएको जानकारी गराउँदै क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि ‘पुनर्निर्माण कोष’ स्थापना गरिएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले परिवर्तित स्थितिमा मनोबल गिराउने खालका काम नगर्न र रूपान्तरित भएर सेवा प्रवाह गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीसँग अपिल गर्नुभयो ।