काठमाडौं := सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन दलका शीर्ष नेताका घरमा पुगेर मुचुल्का उठाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर विभागको टोलीले मुचुल्का उठाएको हो ।
विभागले नेपाली कांग्रेसकै केन्द्रीय सदस्य एवं पूर्व-ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित निवासको समेत मुचुल्का उठाएको हो । गत भदौ २४ गते जेन-जीको प्रदर्शनका क्रममा देउवा, प्रचण्ड र खड्काको घरमा पैसाका थुप्रो जलेको भनेर भिडियो बाहिरिएको थियो । खड्काको घरबाट पैसा फालेको भिडियोसमेत सार्वजनिक भएको थियो ।
बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ (हजार/पाँच सयका नोट) जलेको टुक्राहरू भेटिएका थिए । देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी प्रत्यक्षदर्शीले गरेका थिए । तर, देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै पैसा राख्ने सुरुङ नभएर अण्डरग्राउण्ड पानी ट्यांकी पुरेको दाबी गर्नुभएको थियो ।
प्रचण्डको निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको र डढेको भनेर भिडियो भाइरल बनेका थिए । सामाजिक सञ्जालमा जलेको नोटका तस्वीरहरू सार्वजनिक भएका थिए । विभागका एक उच्च अधिकारीका अनुसार देउवा, ओली, प्रचण्ड र खड्काको घरमा पुगेर मुचुल्का गर्दा केही डढेका नोटबाहेक केही भेटिएको छैन ।
‘हाल मुचुल्का गरेका प्रमाणले सम्पत्ति शुद्धीकरणमा दोषी करार गर्न सकिँदैन,’ स्रोतले भन्यो, ‘अब उहाँहरूलाई बयान लिने, उहाँहरूको अन्य जायजेथा सम्पत्ति, सार्वजनिक पदमा बसेका बेला आम्दानी भएका सम्पत्ति, बैंक खातामा जम्मा भएका विवरणलगायत संकलन गर्ने÷नगर्नेबारे माथिल्लो तहसँग समन्वय भइरहेको छ ।’
सुशीला कार्कीले प्रधानमन्त्री हुनुअघि नेताहरू भ्रष्ट रहेको र सत्तामा पुगेपछि खुलमखुला भ्रष्टाचार हुँदै आएको भनेर दिएको अभिव्यक्ति र हालै नेताहरूका घर÷घरमा सम्पत्ति शुद्धीकरणको टोली पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रमाणहरू परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइयो :
विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डिएफएल)मा पठाएको छ । ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जामन्त्री दीपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको थियो,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो, ‘ती प्रमाणको वस्तुपरकता, यथार्थ परीक्षण गर्न नेपाल प्रहरीको डिएफएलमा आफैँ प्रमाण सहितको पत्र पठाइएको हो ।’
कुनै विषयमा उजुरी परेर त्यसका थप प्रमाण संकलनका प्रक्रियाहरू बढेपछि अनुसन्धान सुरु हुन्छ । विभागले देउवा दम्पती र मन्त्री खड्काको घर आगजनीपछि स्थलगत रूपमा त्यहाँ पुगेर केही प्रमाणहरू संकलन गरेको थियो । त्यसपछि अरू प्रमाण पनि संकलन गरेर पत्र पठाइएको स्रोतले बतायो ।विभागसम्बद्ध स्रोतका अनुसार, पैसाका टुक्राहरू, खरानीका साथै देउवा र खड्का निवासको भिडियो संकलन भएको थियो । त्यसक्रममा पैसा छरेको र उडाएको भेटिएको थियो । तीमध्ये केही मानिसहरूसँग विभागका अधिकारीहरूले अनौपचारिक कुराकानीपछि थप प्रक्रिया अघि बढाएका हुन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समानान्तर रूपमा भूमिगत गिरोह परिचालन गरेको आरोप खेप्ने आरजुमाथि सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय काम कारबाहीमा सार्वजनिक पदको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत नाम मुछिनुभएकी आरजुमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ । ऊर्जामन्त्री खड्का मन्त्री हुँदा पदको दुरुपयोग गरेको र स्वार्थ जोडिएको काम गरेको आरोप लाग्ने गरेको छ। उहाँको घरमा भेटिएको प्रमाण पनि परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतले बतायो ।