काठमाडौं := नेकपा एमालेका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको गुनासाे गर्नुभएकाे छ । काठमाडाैंमा बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा उहाँले यस्तो गुनासाे गर्नुभएकाे हाे ।
गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि ओलीले सत्ता छाेड्न बाध्य हुनुभएकाे थियाे । उहाँले उक्त आन्दोलनपछि आफू प्रहारको निशानामा परेको पनि स्वीकार गर्नुभएकाे छ ।
उहाँले भन्नुभयाे,-‘अहिले पनि उत्तेजनात्मक, अराजनीतिक, प्रतिशोधात्मक अभिव्यक्ति भइरहेका छन् । हाम्रो सामाजिक चरित्र, मूल्यमान्यता र व्यवहार नै यही हो त ? हैन भने यो कहाँ गइरहेको छ ? कहाँ गएर रोकिन्छ रु समाजमा शान्ति हुन पर्दैन, शान्ति हुन नपर्ने नेपाल मात्रै हो ?
हामी नेपालीहरू देश जोगाउनु छ। देशमा सुशासन कायम गर्नुछ, देशलाई अगाडि बढाउनुछ । मलाई राम्ररी थाहा छ, म माथि प्रहारको निशाना केन्द्रित गरिएको छ । मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध भयो, मैले भ्रष्टाचार गरिनँ । गर्दिनँ, गरेको छैन र गर्दिनँ पनि । यहि अपराध भयो ।’
देशलाई विकासको खाका तयार पारेर अघि बढेको बताउदै उहाँले अशान्ति, सुव्यवस्था कायम गर्ने र हिंसा भड्काउने तत्वहरूलाई मूल धारमा ल्याएको समेत दावी गर्नुभयाे । आगजनी र तोड्फोड लगायतका घटना जेनजी युवाहरूले नगरेको उहाँकाे तर्क छ ।
ओलीले भने ‘यो देश हाम्रो हो, हामीले बनाउने हो भन्ने भावना राख्नुपर्दछ। अहिले अरूको उच्चालाईमा गएर कसले जलायो? थाहा छैन। सिंहदरबार जलाइयो,’ ओलीले भनेका छन्, ‘कसले जलायो? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले, सिंहदरबार जलायो होला र? पक्कै जलाएन।’
अरू नै कुनै घुस पैठिया तत्त्वहरूले नै सिंहदरबार जलाएको उनले बताएका छन्। ‘जो पहिलेदेखि नै भन्दै थिए, सिंहदरबार जलाउँछु,’ ओलीले अगाडि भनेका छन्। उनको यो अभिव्यक्ति सिधै बालेन लक्षित छ। बालेनले नै कुनै समय ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति फेसबुकमा पोस्ट्याएका थिए। त्यही अभिव्यक्तिका कारण अहिले उनी आलोचित पनि छन्।
यस्तै संसद् भवन जलाउन धेरै पटक हमला भएको पनि ओलीले दाबी गरेका छन्। ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र(हाल संसद् भवन) तिर हमला गरेको थोरै पल्ट त भएन, धेरै पल्ट भइसक्यो। अथवा यो एउटा उनीहरूको योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नुपर्दछ,’ ओलीले भनेका छन्। सरकारले यसको खोजी गरेर कारबाही गर्नुपर्नेमा अध्यक्ष ओलीकाे जाेड थियाे ।