केलाङ (मलेसिया):= केलाङको पुलाउ इन्डाह औद्योगिक क्षेत्रको अवैध आप्रवासी बस्तीभित्र सञ्चालन हुँदै आएको वेश्यालय मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” का अधिकारीहरूले छापा मार्दा फेला परेको छ। गत राति करिब ०९:३० बजे गरिएको छापामारीमा तेस्रो तलामा रहेको भवनभित्र वेश्यालय सञ्चालनमा रहेको पाइएको हो।
तर, प्रहरी कारबाही सुरु हुनुअघि नै संलग्न महिलाहरू फरार भएका थिए। उनीहरूलाई बाहिरैबाट सूचना दिने ‘टोण्टो’ (निगरानी गर्ने व्यक्ति) ले सतर्क गराएको आशंका गरिएको छ।अनुगमनमा संलग्न स्थानीय पत्रकारका अनुसार, उक्त वेश्यालयमा १३ वटा कोठा रहेका थिए, प्रत्येकमा एसी जडान गरिएको थियो।
स्रोतका अनुसार, त्यहाँ बरामद अभिलेखमा देखाइएअनुसार यौन व्यवसायमा संलग्न महिला इन्डोनेसिया, भियतनाम र म्यानमारकी नागरिक रहेको उल्लेख छ। ती महिलाले प्रति कोठा ४०० देखि ७०० रिङ्गिटसम्म भाडा तिर्ने गरेको पाइएको छ।
भवनको भुइँतलादेखि तेस्रो तलासम्म सिसीटीभी जडान गरी अधिकारीहरूको गतिविधि निगरानी गर्ने गरिएको थियो। “प्रवेशद्वारमै टोण्टो खटाइन्थ्यो जसले छापा मार्न आउनु भन्दा पहिले नै सूचना दिन्थ्यो,” स्रोतले बताए।
उक्त वेश्यालय करिब छ महिनादेखि सञ्चालनमा रहेको र स्थानीय ग्राहकदेखि लरी सहायक तथा वरपरका विदेशी कामदारसम्मलाई लक्षित गरिएको अनुमान गरिएको छ। वेश्यालय दिउँसो ढिलोदेखि मध्यरातसम्म सञ्चालन हुने गरेको अधिकारीहरूको भनाइ छ।
“कोठाभित्र खानेकुरा र कपडाहरू छरपस्ट अवस्थामा भेटिएका छन्। साथै, कन्डोम र भिजेको टिस्युजस्ता यौन व्यवसायसँग सम्बन्धित सामग्रीहरू पनि बरामद भएका छन्,” स्रोतले थपे।
अधिकारीहरूले वेश्यालय स्थानीय गिरोहले सञ्चालन गरेको र विदेशी महिलाहरूलाई शोषणमा लगाइएको आशंका गरेका छन्। तीमध्ये धेरैजसो महिलाले सामाजिक भ्रमण भिसा अवधि नाघेको पाइएको छ। यौन सम्पर्कको मूल्य १५० देखि ३०० रिङ्गिटसम्म लिइने र कमाइ गिरोहका मुख्य व्यक्तिहरूबीच बाँडफाँट हुने गरेको जनाइएको छ।
त्यहाँ संकेतिक कोड प्रणाली प्रयोग गरी महिलाहरूलाई पहिचान गरिने गरेको र करिब आठ महिला संलग्न रहेको विश्वास गरिएको छ। त्यस्तै, दोस्रो तलामा गरिएको छुट्टै छानबिनमा अवैध रूपमा भण्डारण गरिएको मदिरा भेटिएको छ, जुन वेश्यालयका ग्राहकका लागि राखिएको शंका गरिएको छ।
यसैबीच, सेलाङ्गोर आप्रवासन विभागका निर्देशक खैर्रुल अमिनुस कमारुद्दिनले वेश्यालयसम्बन्धी थप अनुसन्धान गरिने बताएका छन्। “यसपटक टोण्टो र सिसीटीभीको कारण कसैलाई पक्राउ गर्न सकिएन। तर, हामी यो अवैध गतिविधिलाई पूर्ण रूपमा विघटन गर्ने गरी विस्तृत अनुसन्धान अघि बढाउँछौं,” उनले भने। BERNAMA