काठमाडौं:= एकै दिन रिलिज हुने तीनवटा नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को शो बाँडफाँट भएको छ । अधिकांश मल्टिप्लेक्सले फूलपातीको दिन रिलिज हुने यी चलचित्रको शो बाँडफाँट गरेका हुन्। मल्टिप्लेक्सले गरेको बाँडफाँटमा सबैभन्दा धेरै शो ‘बलिदान’ले पाएको छ ।
‘बलिदान’लाई देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आउटलेटमा ४१ शो दिएको छ ।दोस्रो स्थानमा ‘माइतीघर’ छ । क्यूएफएक्सले यो सिनमालाई काठमाडौंका आफ्ना आउटलेटमा २८ शो दिएको छ । तेस्रो स्थानमा ‘हरिबहादुरको जुत्ता’को शो छ । क्यूएफएक्सले काठमाडौंका आउटलेटमा ‘हरिबहादुरको जुत्ता’ले २७ शो पाएको छ ।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका पाँचवटा आउटलेटमा ‘बलिदान’ले २१ शो पाएको छ । ‘माइतीघर’ले १५ र ‘हरिबहादुरको जुत्ता’ले १४ शो पाएको छ । वान सिनेमामा बलिदान’ले १० शो पाएको छ । ‘माइतीघर’ले ९ र ‘हरिबहादुरको जुत्ता’ले ७ शो पाएको । अन्य मल्टिप्लेक्समा पनि करिबकरिब यस्तै बाँडफाँट भएको पाइन्छ ।
‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् । ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन्। उनीसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
सँगै रिलिज हुने अर्को चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा केदार घिमिरे, धिरज मगर, उपासना सिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।