अशोक दर्जीको कथा अब चलचित्रमा,‘मन बिनाको धन’ फर्स्टलुक पोष्टर सार्वजनिक।

काठमाडौ:= कात्तिक २१ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक पोष्टरमा चलचित्रको मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ ।

पोष्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरोदेखि हिरोसम्मको भनेर लेखिएको छ । पोष्टरबाट सजिलै बुझ्न सकिन अशोक दर्जीको हिजोदेखि आजसम्मको कथा चलचित्रले बोल्नेछ ।

चलचित्रमा अशोकसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायत कलाकारको अभिनय छ ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत आफ्नो जीवन नै परिवर्तन गर्नुभएको छ । गीतमा टंक बुढाथोकीको संगीत छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

सामाजिक विषयवस्तुमा निर्माण भएको यो चलचित्रलाई टंक बुढाथोकी आफैंले लेख्नुभएको हो भने पटकथा र संवाद शिवम् अधिकारीले लेख्नुभएको छ । चलचित्रको निर्माता विष्णु माया मैनाली रहनुभएको छ भने कार्यकारी निर्मातामा सपना शर्मा रहनुभएको छ । यस्तै, जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहनुभएको छ ।

चलचित्रमा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।